
शुक्रवार , मंसिर ७, २०८१
लुम्बिनी, ७ मंसिर । लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) को उद्घाटन गरिएको छ । कानिङ सेडुव लिङ गुम्बा संगठन तथा विकास कोष परिवारले निर्माण गरेको गुम्बाको शुक्रबार एक समारोहकाबीच उद्घाटन गरिएको हो । बौद्ध गुरु छोकी निमा रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले गुम्बाको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताहरुको सहयोगबाट हजारबुद्धको महाविहार निर्माण भएको भन्दै अब यसको संरक्षण सबैले गर्नुपर्ने बताए । उनले बुद्ध भगवानको जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा निकै खुशी लागेको बताउँदै आफूहरुलाई पूजाको वातावरण बनाइदिन आग्रह गरे ।
त्यस्तै कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले लुम्बिनीमा ठूलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीहरुका लागि गौरव भएको बताए । उनले परमपुज्य गुरु निमा रिन्पोछेंले लुम्बिनीमा गुम्बा निर्माण गरेर बुद्ध दर्शनको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए । ‘यो गुम्बा राज्यले नै निर्माण गर्नुपर्ने थियो, रिन्पोछें र विश्वका सहयोगदाताहरुले निर्माण गरेर बुद्ध दर्शनको अध्ययनमा ठूलो योगदान गर्नेछ’ उनले भने ।
त्यसै गरी कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री चन्द्रकेश गुप्ताले लुम्बिनीमा विहारहरु निर्माण हुने कुराले बौद्ध पर्यटनमा ठूलो टेवा पुर्याउने बताए ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन खान, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, कोषका सदस्य सचिव सानुराजा शाक्य लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो । विहार उद्घाटन अघि मंसिर ४ गतेदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो । पुण्य मंगल ज्ञान बर्सात नाम शुद्धि स्नानद्धारा प्राण प्रतिष्ठान, चन्द्र अमृत नामक स्नान, शाक्यमुनी बुद्धको साधना सोह« स्थविरको स्तुती एवं पुजन गरिएको विहारका प्रमुख तथा रिन्पोछे ग्यालजोनले जानकारी दिए । विश्व शान्तिको कामना, विश्व प्राणी जगतको कल्याणको कामना सहित छोकी निमा रिन्पोछेबाट सहस्र बुद्धहरुको अभिषेक एव प्रवचन गरेका थिए ।
महायानी परम्पराअनुसार भएको पूजामा बौद्ध लामा गुरु, आनी, भिक्षुभिक्षुणी, उपासक उपासिकाहरु, विदेशी पाहुनाहरु, स्वदेशी विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो ।
विहारको उदघाटन लगत्तैको पुजामा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थिति थियो । पूर्व राजा शाहलाई छोकी निमा रिन्पोछेले स्वागत गर्दै पूजामा सरिक गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij