२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

क्रिकेटर तृष्णा विश्वकर्मालाई ओमसतियामा नगदसहित सम्मान

शुक्रवार , मंसिर ७, २०८१

भैरहवा, ७ मंसिर । महिलातर्फको यु–१९ विश्वकपमा पुग्ने नेपाली टीमका सदस्य तृष्णा विश्वकर्मालाई सम्मान गरिएको छ । विश्वकर्माको गृह क्षेत्र रुपन्देहीके ओमसतिया गाउँपालिकाले शुक्रबार दोसल्ला ओढाई, नगद ५१ हजार रुपैयाँ र सम्मान–पत्रसहित सम्मान गरेको हो । 

हालै युएईमा सम्पन्न विश्वकप छनौट खेलमा नेपाली महिला टीम छनौट हुँदा विश्वकर्मा सो टीममा सदस्य थिइन् । सम्मान कार्यक्रममा आफ्ना बुवाआमासहित उपस्थित भएकी विश्वकर्मालाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, प्रशासन प्रमुख रूपा थापा लगायतले सम्मान गरेका थिए । 

सम्मान लिदै क्रिकेटर विश्वकर्माले आफूलाई थप उत्साह र हौसला प्राप्त भएको जनाउँदै विश्वकपमा नेपाली महिला टीमले राम्रो प्रदर्शन गर्ने बताइन् ।

सम्मान गर्दै गाउँपालिका अध्यक्ष यादवले विश्वकर्माले क्रिकेटको माध्यमबाट गाउँपालिकाको नाम पनि चम्काएको बताउँदै विश्वकप क्रिकेटमा छनौट गराउन सफल आफ्नै गाउँको चेलीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । अध्यक्ष यादवले खेलकुदलाई अघि बढाउन साथ सहयोग सदैव रहने भन्दै क्रिकेट खेल अघि बढाउन मद्दत गर्ने तृष्णाको बुवाआमालाई समेत बधाई दिए । 

गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आफ्नै गाउँमा राष्ट्रियस्तरको क्रिकेट खेलाडी रहेको र अहिले उनलाई सम्मान गर्न पाउँदा हर्षित भएको जनाइन् । उपाध्यक्ष चौधरीले तालिम र अवसर पाए महिलाहरूले पनि राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण तृष्णा भएको बताउँदै खेल क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको जनाइन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले क्रिकेटले गाउँपालिकालाई चिनाएको भन्दै खेल क्षेत्रलाई अघि बढाउन गाउँपालिका प्रतिबद्ध रहेको बताए । क्षेत्रीले सम्मानित खेलाडीको हौसलाकै लागि सानै रुपमा भए पनि सहयोग गरेको जनाउँदै भविष्यमा के कसरी सहयोग गर्न सकिन्छ तयार रहेको बताए । 

तृष्णाका बुवा चन्द्र भान विश्वकर्माले छोरीले मिहिनत गरे अनुसारको प्रतिफल प्राप्त गरेको बताए ।

61fbbc38-2370-4692-976e-ac9a69235d4a.jpeg
undefined

सम्मान समारोहको सञ्चालन प्रशासन प्रमुख रुपा थापाले तथा स्वागत योजना शाखा प्रमुख सरस्वती घिमिरेले गरेका थिए । तृष्णा ओमसतिया गाउँपालिका वडा नम्बर १ स्थित नयाँगाउँकी स्थायी बासिन्दा हुन् ।