
आइतवार , मंसिर ९, २०८१
भैरहवा, ९ मंसिर । बैलैमा उपचार गरे कुष्ठरोग पूर्ण रुपमा निको हुने सरोकावालाहरुले बताएका छन् । समयमै कुष्ठरोगी पत्ता लागे सर्न नपाउने र शरीर अंगभंग हुनबाट बचाउन सकिने उनीहरुले बताएका हुन् । कुष्ठरोगी सम्मानित रुपमा बाँच्न पाउनुपर्ने उनीहरुको भनाइ छ । द लेप्रोसी मिसन नेपालले भैरहवामा आयोजना गरेको सरोकारवालाहरुसँग कुष्ठरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकावालाहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख चिन्तामणि ज्ञवालीले कुष्ठरोग भगवानको श्रापले लाग्छ भन्ने भ्रम अझै पनि रहेकोले भ्रमलाई चिर्नुपर्ने बताए । उनले भने, ‘समयमै कुष्ठ रोग पत्ता लागे सर्न पाउँदैन, मानिसको शरीर अंगभंग हुनबाट बचाउन सकिन्छ ।’
त्यस्तै स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ क्षय–कुष्ठरोग निरीक्षक टीकाराम अधिकारीले कुष्ठरोगले मुख्य रुपमा छाला र स्नायूलाई असर गर्ने बताए । उनले भने, ‘ढिलो उपचारमा जाँदा स्नायूमा असर गर्छ । आफ्नो शरीरमा कुनै दाग देखिए तत्काल चेकजाँच गराउनुपर्छ । ’उनले रोग लुकाएर बस्न नहुने र तत्काल उपचारमा जानुपर्ने बताए ।
कार्यालयका जनस्वास्थ्य अधिकृत रिसब श्रेष्ठले कुष्ठ रोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिनुपर्ने बताए । उनले कुष्ठरोगको शंका लागेका बिरामीलाई स्वास्थ्य संस्थाहरुमा पठाई रोग निदान र उपचारमा सहयोग पुर्याउनुपर्ने बताए । उनका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ४ महिनामा रुपन्देहीमा ४५ जनामा कुष्ठरोग देखिएको छ ।
सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले चालु आर्थिक वर्षमा सिद्धार्थनगरमा ५ जना नयाँ कुष्ठरोगका बिरामी पत्ता लागेको जानकारी दिए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका महासचिव शंकर प्रसाद पाण्डेले कुष्ठरोग निवारणका लागि सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । द लेप्रोसी मिसन नेपाल रुपन्देहीकी संयोजक सीता आलेले संस्थाले विगत ६ वर्षदेखि विभिन्न परियोजनामार्फत कुष्ठरोग सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।
कुष्ठरोग के हो ?
कुष्ठरोग मुख्यतया छाला र नशामा असर गर्ने रोग हो । कुष्ठरोग किटाणुको कारणले हुन्छ । छालामा रातो वा फ्रुस्रो रंगको दाना आउनु, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिनु, अनुहार वा शरीरको अन्य भागमा गीर्खाहरु देखिनु लगायत कुष्ठरोगका लक्षणहरु हुन् ।
नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रुपले निको हुन्छ र अपांगता हुनबाट बच्न सकिन्छ । यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ । जसअनुसार बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले ६ महिना नियमित औषधि खानुपर्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij