
सोमवार , मंसिर १०, २०८१
भैरहवा, १० मंसिर । सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा भैरहवामा भएको ज्वाइन्ट कप–२०८१ (क्रिकेट प्रतियोगिता) को उपाधि नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालय र संजीवनी शिक्षा सदनले जितेका छन् ।
छात्रतर्फ फाइनल खेलमा स्पांगललाई २ रनले पराजित गर्दै नेपाल नालन्दा र छात्रातर्फ लर्ड गौतमबुद्ध बोर्डिङ स्कूललाई २३ रनले पराजित गर्दै संंजीवनीले उपाधि जितेको प्रतियोगिताका संयोजक तथा सामूहिक विद्यालय परिवारका उपाध्यक्ष समसाद इद्रीसीले बताए ।
खेलमा नालन्दाका महेश मल्लाह र संजीवनीकी सलिना नेपाली प्लेयर अफ द म्याच घोषित भएका थिए।
प्रतियोगितामा छात्रतर्फ नालन्दाका सम्राट खाती बेस्ट ब्याटर, स्पांगलका मैनुद्दीन खान बेस्ट बलर, मनकामनाका राहुल ओली बेस्ट फिल्डर र इभरग्रीनका कमलेश यादव प्लेयर अफ सिरिज भएका थिए ।
त्यस्तै छात्रातर्फ संजीवनीकी सलिना नेपाली बेस्ट ब्याटर, संजीवनीकी मनिता नेपाल बेस्ट बलर र फिल्डर र संजीवनकी सलिना नेपाली प्लेयर अफ द सिरिज घोषित भएका थिए ।
विजेता तथा उपविजेताहरुलाई आइतबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले पुरस्कार प्रदान गरेका थिए ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले उद्घाटन गरेकी थिइन् ।
प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ १० गरी २४ वटा टीमको सहभागीता रहेको सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष बसन्त पाण्डेले जानकारी दिए । उनले प्रत्येक वर्ष यो प्रतियोगितालाई निरन्तरता दिदै आएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij