
सोमवार , मंसिर १०, २०८१
काठमाडौं, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंको धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुने एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।
ट्रफी अनावरण कार्यक्रममा लिग खेल्ने ८ वटै टोलीका मार्की खेलाडीको समेत उपस्थिति रहेको थियो । ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले लिगले नेपालको पर्यटन प्रवद्र्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुुत गर्न प्रत्यक्ष सहयोग पुुग्ने बताए ।
प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए ।
क्रिकेट अहिलेको पुस्ताको सपना र गौरवको विषय पनि भएकाले नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सबै लाग्नुपर्ने उनले बताए ।
त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलले नेपाली क्रिकेटलाई विश्वमाझ थप उजागर गर्ने विश्वास व्यक्त गरे । उनले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको बताए । ट्रफीले नेपालीको भावना र प्राकृतिक सम्पदासँग जोड्न खोजेको उनले जानकारी दिए ।
खड्काले ट्रफीका लागि पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट ढुंगा ल्याएर सहयोग पुर्याएको जानकारी दिए । यही शनिबारबाट सुरु हुने एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिष्पर्धा गर्दैछन् ।
प्रतियोगिता पुस ६ गते समापन हुने क्यानले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij