
मंगलवार , मंसिर ११, २०८१
बुटवल, ११ मंसिर । नेपालमा पछिल्लो समय भष्टाचारका घटनामा वृद्धि भइरहेको सरोकारवालाले बताएका छन् । नीतिगत अस्पष्टता, घूसखोरी, राजस्व छली र सार्वजनिक सेवामा हुने अनियमितता कम गर्न नसक्दा नेपालमा भ्रष्टाचार बढेको बुटवलमा आयोजित कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् ।
भ्रष्टाचारको दर र दायरा स्थानीय तह, प्रदेश र संघ हुँदै सार्वजनिक निर्माण, स्वास्थ्य, शिक्षा र सञ्चार तथा सूचना प्रविधि जस्ता क्षेत्रहरूमा समेत बढेकाले अवस्था डरलाग्दो बनेको उनीहरुको भनाइ छ ।
सेन्टर फर मिडिया रिसर्चले मंगलबार बुटवलमा आयोजना गरेको भ्रष्टाचार र मिडिया अन्तर संवाद कार्यक्रमका सहभागीले दलका नेता र उच्च तहका व्यक्तिको संलग्नता र संरक्षणमै ठूला ठूला भ्रष्टाचारका काण्डहरू भएको उल्लेख गरे ।
सहभागीहरुले भ्रष्टाचार कम गर्ने भए दलीय संस्कार र पद्दति सुधार्नुपर्ने बताउँदै त्यसका लागि राजनीतिक नेतृत्व सच्चीनुपर्नेमा जोड दिए । खर्चिलो र भड्किलो निर्वाचन प्रणाली नहट्दासम्म नेताहरु सरकारमा पुगेर जसरी पनि कमाउ धन्दामा लाग्ने भन्दै उनीहरुले सदाचार प्रवद्र्धनका काम राजनीतिक दल र दलीय संस्कारबाटै सुरु हुनुपर्ने बताए ।
कमजोर कानूनी संरचना र कार्यान्वयनमा कमीले पनि अनियमितता बढाएको भन्दै तीन तहकै सरकारले यसमा काम गर्नुपर्ने बताए । नागरिक निगरानी, सूचना प्रविधिको प्रयोग र डिजिटलाइजेसनले पनि भ्रष्टाचारको नियन्त्रणका लागि सहयोग पुग्ने बताउँदै सरोकारवालाहरुले सार्वजनिक सेवामा सूचना प्रविधिको प्रयोगले पारदर्शिता र निगरानी प्रणालीलाई बलियो बनाउन सुझाव दिए ।
सञ्चार माध्ययम पनि भ्रष्टाचार निवारणका माध्यम बन्न सक्ने बताउँदै उनीहरुले भ्रष्टाचारको अन्त्य र सुशासन प्रवद्र्धनका खोजमूलक साग्री पस्कन सुझाएका छन् ।
अन्तरसंवादमा वरिष्ठ पत्रकार हरि बहादुर थापा र सिएमआरका तिलक पाठकले अवधारणा प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij