२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रभातफेरी गरी भैरहवामा सुरु भयो लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

मंगलवार , मंसिर ११, २०८१

भैरहवा, ११ मंसिर । ‘हामी सबैको प्रतिवद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ भन्ने मूल नाराका रुपन्देहीको भैरहवामा ३३ औं लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा सोमबार भैरहवामा प्रभातफेरी गरिएको छ । देवकोटाचोकबाट सुरु भएको प्रभातफेरी नगरका विभिन्न स्थानको परिक्रमा गरी नगरपालिकाको कार्यालयमा पुगेर समापन भएको हो ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको अध्यक्षता तथा नगरप्रमुख इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यतामा ३३ औं लैंिगक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको हो । 

अभियानको उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख खाँले महिला र पुरुषमा कामको समान बाडफाड नहुँदासम्म समाजमा महिला हिंसा अन्त्य नहुने बताए । उनले महिला हिंसा नेपालमा मात्र नभएर विश्वमा नै डरलाग्दो स्थिति रहेको र सिद्धार्थनगर नगरपालिका भारतको सीमानासँग जोडिएकोले मानव बेचबिखनको समस्या पनि उत्तिकै रहेको बताए ।
समाजमा लैगिंक हिंसा उन्मुलन गर्न महिला र पुरुषलाई समान दृष्टिले हेर्नुपर्ने नगरप्रमुख खाँको भनाइ छ । उनले कानून कार्यान्वयनको पाटो अझ बलियो हुनुपर्नेमा जोड दिए ।

त्यसै गरी सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले लैंगिकताको आधारमा महिला, पुरुष र तेस्रोलिंगी कसैलाई पनि विभेद र हिंसा नहोस् भन्ने यो कार्यक्रमको उद्देश्य रहेको बताए । उनले विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने महिलाहरु नै बढी पीडित भएको पाइएको बताइन् । 

‘नेपालमा मात्र नभइ नै हरेक ३ जना महिलामध्ये १ जना महिलामाथि हिंसा हुने गरेको पाइएको छ । तसर्थ पनि महिला हिंसाविरुद्ध हामी सबैले आवाज उठाउनुपर्छ । प्रतिवद्धता ब्यानरमा सम्पूर्णलाई हस्ताक्षर गर्न आग्रह गर्दे उनले भनिन्, ‘म हिंसा गर्दिन । म हिंसा सहदिन र म हिंसा देखेमा प्रतिकार गर्छु भन्ने नारालाई व्यवहारमा लागू गर्न समेत आग्रह गर्दछु ।’ 

नगर उपप्रमुख अधिकारीले यही मंसिर २० गतेदेखि भैरहवामा हुने नवौं लुम्बिनी पर्यटन महोत्सवमा लैंगिक हिंसाविरुद्धको अवसरमा सडक नाटक नगरपालिकाकै आयोजनामा हुने जानकारी दिइन् ।

कार्यक्रममा सबै किसिमका लैगिंक हिंसा रोक्न प्रतिवद्धता ब्यानरमा हस्ताक्षर समेत भएको थियो । सो कार्यक्रम १६ दिनसम्म नै विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गरी मनाइनेछ । १६ दिने अभियानको अन्त्यमा अभिमुखीकरण कार्यक्रमको समेत आयोजना गर्ने नगरपालिकाले जनाएको छ । 

सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत चेतनशील लम्सालको स्वागतमा भएको कार्यक्रममा सिद्धार्थनगर–६ का वडाध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक अमृता के.सी लगायतले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको बारेमा भनाइ राखेका थिए । सिद्धार्थनगर नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कौशल्या चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

20241125_084507 (1).jpg

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा जिल्लास्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल समिति र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वय तथा सहकार्यमा सुरु भएको हो । 

कार्यक्रममा शुभ अवसर ग्राम नेपाल, माइती नेपाल, आशिष सामाजिक सेवा नेपाल, आफन्त नेपाल, थ्रि एजल्स नेपाल, शान्ती पुर्नस्थापना गृह सिनपा १ बेलहिया रुपन्देही, साना हातहरु लगायतका संस्थाहरुको सहयोगी भूमिका रहेको थियो । 

कार्यक्रममा नगरका विभिन्न संघ–संस्था, समूहहरु, जनप्रतिनिधिहरु, सामूदायिक र संस्थागत विद्यालयका शिक्षक र विद्यार्थीहरु, स्वास्थ्य स्वयंसेविका, मेलमिलापकर्ता लगायतको सहभागीता रहेको थियो ।

IMG-20241125-WA0084.jpg