२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

लुम्बिनी महोत्सवमा टिकटक प्रतियोगिता, विजेतालाई नगद पुरस्कार

बुधवार , मंसिर १२, २०८१

  • 850
    Shares
  • 850
    Shares
  • भैरहवा, १२ मंसिर । लुम्बिनी राष्ट्रिय महोत्सवको प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले रुपन्देहीको भैरहवामा टिकटक प्रतियोगिता आयोजना गरिएको छ । सिद्धार्थ उद्योग वाणिजय संघ, रुपन्देहीको आयोजनामा यही मंसिर २० देखि पुस १ गतेसम्म भैरहवास्थित अञ्चलपुरमा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ हुँदैछ । सामाजिक संजाल टिकटकमार्फत् महोत्सवको प्रचारप्रसार गरी बढी भन्दा बढी दर्शकको उपस्थिति गराउन आयोजकले टिकटक प्रतियोगिता आयोजना गरेका हुन् ।

    ‘लुम्बिनी महोत्सवमा घुम्न जाऔं’ भनेर उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई आर्कषक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ । संघका सचिव तथा महोत्सवका प्रचारप्रसार समिति संयोजक मंगल भण्डारीले मेलाको प्रचारप्रसार हुने गरी टिकटक प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

    ‘धेरैजनाले टिकटक चलाउनुहुन्छ, यसलै भैरहवामा महोत्सव लाग्न लागेको जानकारी दिन र महोत्सवको प्रवद्र्धन गर्न प्रतियोगिता राखिएको हो’, उनले भने, ‘प्रतियोगितामा धेरैजना सहभागी भएर प्रतिष्पर्धा गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।’

    टिकटक प्रतियोगितामा भाग लिने प्रतिष्पर्धीले महोत्सवको प्रचार हुने किसिमको भिडियो बनाई आफ्नो अकाउण्टमा पोष्ट गर्नुपर्नेछ । टिकटक भिडियो पोष्ट गर्दा ‘ह्याचट्याग लुम्बिनी महोत्सव २०८१’ लेखेर पोष्ट गर्नुपर्ने छ ।

    प्रचारप्रसार समिति संयोजक भण्डारीका अनुसार प्रतिष्पर्धीले केही नियम भने पालना गर्नुपर्नेछ । उनका अनुसार भिडियो लुम्बिनी राष्ट्रिय महोत्सवलाई केन्द्रित गरेर बनाउनुपर्नेछ । यस्तै, टिकटक भिडियो बढीमा २ मिनेटको हुनुपर्नेछ, भिडियो प्रतिष्पर्धीले एकल वा सामूहिक रुपमा पनि बनाउन सक्नेछन् ।

    यस्तै, प्रतिष्पर्धामा जुनसुकै उमेर समूहकाले भाग लिन सक्नेछन् । प्रतियोगीले मंसिर १२ गतेदेखि १९ गतेसम्म ‘घुम्न जाउँ लुम्बिनी महोत्सव’ भनेर सन्देशमूलक र प्रचारात्मक भिडियो बनाएर पोष्ट गर्नुपर्नेछ । यसपछि महोत्सव सुरु हुने दिन मंसिर २० देखि २९ गतेसम्म महोत्सवको विशेषतामा केन्द्रित भएर भिडियो बनाएर पोष्ट गर्नुपर्नेछ । ‘हामीले दुई क्लिप भिडियो बनाएर टिकटकमा पोष्ट गर्नुपर्ने नियम बनाएका छौं’, भण्डारीले भने, ‘एउटाले महोत्सव घुम्न जाउँ भन्ने सन्देश प्रवाह गर्छ भने अर्कोले महोत्सवका विशेषता उजागर गर्नेछ ।’

    नियम पूरा गरी पोष्ट भएको एक उत्कृष्ट भिडियोलाई प्रचार समितिले विजेता घोषणा गर्नेछ । विजेता घोषणा गर्दा टिकटक बनाएर पोष्ट गरेको मिति, त्यसले दिएको सन्देश तथा प्रचारप्रसारको अवस्था, लाइक, भ्युज र शेयरलाई आधार मानिने आयोजकले जनाएका छन् । विजेतालाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारसहित आकर्षक उपहार प्रदान गरिने सिद्धार्थ उद्योग वाणिज्य संघले जनाएको छ ।

    संघका अध्यक्ष तथा मेला मूल आयोजक समिति संयोजक ठाकुर कुमार श्रेष्ठले भैरहवा र यस आसपासको आर्थिक गतिविधिलाई बढवा दिन पनि टिकटक प्रतियोगिताले केही न केही सहयोग पुग्ने बताए । ‘कतिपय दर्शक टिकटक हेरेर पनि मेला भर्न आउने हाम्रो अनुमान छ’, उनले भने, ‘मेलामा आउनेले केहीले खरिद गर्नुहुन्छ, केहीले खानपिन गर्नुहुन्छ । केहीले यहाँ प्रदर्शनीमा राखिएका सामानबारे बुझ्ने र जानकारी लिने गर्नुहुन्छ । तसर्थ प्रतियोगिताको धेरै महत्व छ ।’ उलने महोत्सव सबैको साझा भएकाले सफल पार्न अपिल गरे ।