२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘रत्नम’ ब्राण्डको अर्गानिक मल बजारमा

बिहिवार , मंसिर १३, २०८१

भैरहवा, १३ मंसिर । रुपन्देहीमा ५ विघा क्षेत्रफलमा ३० करोड रुपैयाँ लगानी गरी ‘रत्नम अर्गानिक दानेदार मल’ बजारमा ल्याइएको छ । उद्योगी सिद्धार्थ अग्रवालले ३० करोड लागतमा रत्नम दानेदार अर्गानिक मल उत्पादन गरेर बजारमा ल्याएका हुन । रोहिणी गाउँपालिका–४ स्थित कोटहवामा ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रा.लि. नामक उद्योग स्थापना गरी उत्पादन गरिएको मल बजारमा आएको हो ।  

हरेक वर्ष अन्नबाली लगाउने समयमा किसानले मल नपाउने गुनासोलाई आफ्नो उद्योगबाट उत्पादित मलले केही हदसम्म भए पनि सम्बोधन गर्ने उद्योगी अग्रवालको भनाइ छ । माटोको उर्वराशक्ति बढाउन नाइट्रोजन, फस्फोरस र पोटासियम मुख्य तत्वसहितको मल उत्पादन गरी बजारमा ल्याएको उनले बताए । उद्योगमा दैनिक २ सय मेट्रिकटन उत्पादन क्षमताको प्लान्ट रहेको उनले जानकारी दिए । मलको बजार मूल्य प्रतिबोरा (५० किलो) को १ हजार ५ सय रुपैयाँ रहेको उनले बताए । अग्रवालले सरकारबाट विक्रीवितरण अनुमति पाएपछि उद्योगले मल वितरण गरेको जानकारी दिए । 

परीक्षणबाट ‘राम्रो रिजल्ट आयो त्यसपछि हामी व्यवसायिक रुपमा अंगाडि बढ्यौं’उनले भने, ‘मल प्रयोग गरेको जग्गामा प्रतिकठ्ठा २ सय किलोसम्म धान उत्पादन भएको छ ।’उत्पादनको छोटो समयमा नै बजारमा माग बढी आएको उनको भनाइ छ । ‘हामीले अर्गानिक तरिकाले बनाएका कारण धेरै माग भइरहेको छ,’अग्रवालले भने । उद्योगको आफ्नै ल्याबमा गुणस्तर जाँच हुनुका साथै सरकारको आधिकारिक ल्याबमा परीक्षणपछि मात्र मल बजारमा पठाउने गरिएको अग्रवालले बताए ।

ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.का प्रबन्ध निर्देशक पुनम अग्रवालले कोरोना महामारीको समयमा मल अभाव हुँदा गुणस्तरहीन मल प्रयोगबाट जमिनको उर्वराशक्ति कमजोर भएको बताइन् । अब आफ्नै देशमा उत्पादित अगार्निक मललाई निरन्तरता दिन जरुरी रहेको उनले बताइन् । ‘हामीले अब गुणस्तरलाई ध्यान दिन जरुरी छ’ उनले भनिन्, ‘माटोको उर्वराशक्ति बढाउने ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रा.लि.बाट उत्पादित रत्नम मल गुणस्तरीय छ ।’ यस्ता उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनको माग छ । 

नेपालसँगै भारतमा समेत यसको माग भएको बताउँदै उनले हाल लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशमा मल विक्री भइरहेको उल्लेख गरिन् । यसका साथै भारतका किसानले पनि मल खरिद गरेर लगेको उनले बताइन् । रुपन्देहीमा १ सय बढी विक्री केन्द्रबाट रत्नम विक्रीवितरण भइरहेको उनले जानकारी दिइन् । हाल उद्योगमा ४० जनाले रोजगारी पाएका छन् ।

IMG_4099.JPG