२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मर्चवार लिफ्ट सिँचाईको ३० औं साधारण सभा सम्पन्न

शुक्रवार , मंसिर १४, २०८१

भैरहवा, १४ मंसिर । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्था तथा मर्चवार सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार कोटहीमाई गाउँपालिका–५ स्थित संस्थाको प्रांगणमा साधारण सभा सम्पन्न भएको हो । 

मर्चवार लिफ्ट सिँचाईतर्फ आर्थिक वर्ष २०८०/०८१ को आयव्यय प्रस्तुत गर्दै वर्षभरीमा विभिन्न शिर्षकमा २४ लाख ८९ हजार ६४ रुपैयाँ खर्च भएको संस्थाका व्यवस्थापक विश्वनाथ आर्यले बताए । त्यसै गरी सोही आर्थिक वर्षमा २५ लाख ४५ हजार २ सय १९ रुपैयाँ आम्दानी भएको व्यवस्थापक आर्यले जानकारी दिए । किसानहरुबाट पानी र सदस्यता शुल्कबाट ११ लाख ४७ हजार ३० रुपैयाँ आम्दानी भएको जानकारी गराउदै अन्य विभिन्न शिर्षकबाट ३ लाख १० हजार ३५ रुपैयाँ वक्यौता उठ्नुपर्ने व्यवस्थापक आर्यले बताए । 

त्यसै गरी मर्चवार सामुदायिक वन उपभोक्ता समूहतर्फ आर्थिक वर्ष २०८०/०८१ मा १० लाख ३५ हजार ३ सय १३ रुपैयाँ आम्दानी भएको व्यवस्थापक आर्यले जानकारी दिए । उक्त आर्थिक वर्षमा विभिन्न शिर्षकमा १० लाख २१ हजार ७ सय २० रुपैयाँ खर्च भएको उनले बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व शिक्षामन्त्री तथा प्रदेश सभा सदस्य वसीउद्दीन खाँले मर्चवार लिफ्ट सिँचाइ आयोजनाले मर्चवारको अर्थ व्यवस्था सम्हालेको बताए । उनले भने, ‘मर्चवार कृषि क्षेत्र हो र यहाँका किसानलाई सिँचाईका लागि मर्चवार लिफ्ट सिँचाईको नहर ठुलो स्रोत हो ।’ 

नहरलाई बृहत रुपले विकास गर्नुपर्ने आवश्यक रहेको भन्दै आउने वर्षमा यस आयोजनालाई लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा प्रदेशको गौरवको योजनाको रुपमा समावेश गराउने खाँले बताए । अहिले भइरहेको डीपीआर बमोजिमको आवश्यक बजेट आउने आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारबाट विनियोजन गराउने उनले बताए । मर्चवार क्षेत्रको सडक संजाल जीर्ण अवस्थामा रहेको बताउँदै यसै कार्यकालमा मर्चवारको रिंगरोड र बेथरी खैरा सडकलाई पूर्णता दिलाउने प्रण लिएको बताए ।

विशिष्ट अतिथि रुपन्देही क्षेत्र नम्बर ४ ‘क’ का प्रदेश सभा सदस्य कन्हैया बनियाले आफू निर्वाचित हुनुपूर्व नै मर्चवार लिफ्ट सिँचाइ आयोजनाप्रति चिन्तित रहेको बताए । निर्वाचन पूर्व नै सेमरासम्म पानी पुर्याउन आफ्नो व्यक्तिगत लगानीमा नहर सरसफाई गरी पानी पुर्याएको उनले जानकारी दिए । निर्वाचन लगत्तै बैरघाटदेखि अमवासम्मको नहर सरसफाई गराई पानी पुर्याउन प्रयासरत रहेको उनले बताए । नहर मर्मतको लागि आफूले बजेट समेत बिनियोजन गरेको तर, सो कार्य डिभिजन कार्यालयको कर्मचारीको लापरवाहीले काम गर्न नसकेको बताए । किसानहरुको लागि मल, बिउ र पानीको समेत व्यवस्थापनमा स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधि एकताबद्ध हुनपर्नेमा प्रदेश सभा सदस्य बनियाले जोड दिए  । 

मर्चवार लिफ्ट सिँचाईको नहरलाई पुनः मर्मत गरी आवश्यक ठाउँमा थप गर्नको लागि बजेट बिनियोजन गरी डीपीआर कार्य शुभारम्भ गराएको बनियाले बताए । मर्चवारको सडक, विद्युत, मलखाद लगायत अन्य विभिन्न समस्याप्रति आफूले सम्बन्धित निकाय र कार्यालयमा धाइरहेको बनियाले जानकारी दिए । 

साधारण सभामा कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी, सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव, सम्मरीमाई–७ का वडाध्यक्ष राधेश्याम कुर्मी, कोटहीमाई–५ का वडाध्यक्ष संजय कुमार सैनी, कोटहीमाई–४ का वडाध्यक्ष बेचुराम पाल, कोटहीमाई–७ का वडाध्यक्ष पवन कुमार यादव लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष नजीर अहमद खाँको अध्यक्षता तथा सचिव जगन्नाथ प्रसाद कुर्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।