२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

नौडिहवा (ख) ले जित्यो दोस्रो वडाकप क्रिकेट प्रतियोगिताको उपाधि

शनिवार , मंसिर १५, २०८१

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, १५ मंसिर ।  सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा भएको दोस्रो वडाकप टेनिस क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि नौडिहवा क्रिकेट क्लब (ख)ले जितेको छ । फाइनल खेलमा बुढवा–११ स्टार बेलहियालाई ३३ रनले पराजित गर्दै नौडिहवा (ख)ले उपाधि जितेको हो ।

    शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नौडिहवा (ख) ले १५ ओभरमा ९ विकेट गुमाउँदै १०३ रन बनायो । उसका लागि गौतम बारीले २६ र साहिल अलीले २४ रनको योगदान गरे । बलिङमा बुढवाका अजाज खानले ४ विकेट लिए । 

    जवाफमा बुढवाले १३ दशमलव ५ ओभरमा सम्पूर्ण विकेटको क्षतिमा ७० रन बनायो । उसका लागि आजाद खानले २६ रन बनाए ।  बलिङमा नौडिहवाका साहिल अलीले ३ र मोहम्मद आसिफले २ विकेट लिए ।

    प्रतियोगितामा म्यान अफ द म्याच नौडिहवाका साहिल अली भए । त्यस्तै बेस्ट ब्याटर गौतम बारी, बेस्ट बलर एजाज खान र उत्कृष्ट खेलाडी मोहम्मद आसिफ भए ।

    प्रतियोगितामा सहभागी युकेन धवल र मोहम्मद आसिफलाई निःशुल्क रुपमा रुपन्देही क्रिकेट एकेडेमीमा प्रशिक्षणको व्यवस्था गरिने सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताए ।

    विजेता तथा उपविजेता टीमलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, वडाअध्यक्षहरु, बेलहिया गाउँ समाजका पूर्वअध्यक्ष मोहन सिंह शाही, पूर्व राष्ट्रिय खेलाडी धर्मराज गिरी लगायतले पुरस्कार वितरण गरेका थिए । बिहीबारदेखि सञ्चालित प्रतियोगितामा ९ वटा टीमको सहभागीता रहेको कार्यक्रम संयोजक तथा वडा सदस्य मिन बहादुर गुरुङले बताए ।