
शनिवार , मंसिर १५, २०८१
बुटवल, १५ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा (एमाले), नेपाली कांग्रेसको प्रदेश स्तरीय संयन्त्रको बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेको कामहरुको बारेमा मुख्यमन्त्री चेतनारायण आचार्यले ब्रिफिङ्ग गरेका छन् ।
एमाले–कांग्रेस संयुक्त सरकाले अघि सारेका कामहरु सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँचवर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको मुख्यमन्त्री आचार्यले जानकारी दिएका थिए ।
त्यस्तै बैठकमा संसदीय क्षेत्रमा भएका कामहरुको बारेमा नेपाली कांग्रेस संसदीय दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रकाश पारेका थिए । बैठकमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिएका थिए ।
प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मंसिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरु संकलन गर्ने निर्णय गरेको छ । त्यस्तै मंसिर २० गते एमाले–कांग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय गरेको छ । भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुनेछन ।
एमाले–कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इञ्चार्ज पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल रहेका छन् । त्यस्तै कांग्रेसबाट संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र विष्णु खनाल मुस्कान रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij