२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रेडियो मुक्ति बुटवलको अध्यक्षमा पुन : पोखरेल

आइतवार , मंसिर १६, २०८१

बुटवल, १६ मंसिर । रेडियो मुक्ति बुटवल, रुपन्देहीको अध्यक्षमा पुन: खेमकुमारी पोखरेल ‘दिपु’ सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार बुटवलमा सम्पन्न रेडियोको १५ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा कविता अर्याल, सचिवमा सविता देवी निरौला, कोषाध्यक्षमा राधिका न्यौपाने र सह–सचिवमा उमा अर्याल ढकाल  सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा किस्मती कुमारी चौधरी, सावित्रा घिमिरे, सुमित्रा चापागाई, शारदा पहाडी, राधिका सिग्देल र सप्ता भट्टराई चयन हुनुभएको निर्वाचन समिति संयोजक तारा पाण्डेले जानकारी दिइन् । निर्वाचन समितिको सदस्यमा सुमन पन्थी र सीता गौतम रहेका थिए । 

WhatsApp Image 2024-11-30 at 22.36.30_dde0f609.jpg

यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा रेडियो मुक्तिका पूर्वअध्यक्ष एवं सल्लाहकार सावित्रा देवी अर्यालले महिला सशक्तिकरण, महिला हिंसा न्यूनीकरण, लैंगिक विभेदको अन्त्य र सामाजिक जागरण अभियान संञ्चालन गर्न सफल भएको बताइन् । उनले कर्मचारीका लागि नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक प्रदान गर्न आग्रह गरिन् । 

उपप्रमुख अर्यालले रेडियो मुक्ति महिला सशक्तिकरण आन्दोलनको उपलब्धी भएको बताउँदै अनेक आरोह अवरोहका बीचमा पनि रेडियोले ठूलो फड्को मारेको स्मरण गरिन्  । अर्यालले आगामी दिनमा रेडियोको स्तरवृद्धिका लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

WhatsApp Image 2024-11-30 at 22.37.02_e2ef8934.jpg

संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दिपु पोखरेलले सभ्य समाज निर्माणका निम्ति समाजमा देखिएका नकारात्मक विषयहरुको उठान र सकारात्मक विषयहरुको सम्प्रेषण गर्नु रेडियोको लक्ष्य रहेको बताइन् । उनले लैंगिक हिंसा न्यूनीकरण र महिला सशक्तिकरणको अभियानमा सधै रेडियो अग्रसर रहेको बताइन् ।

अध्यक्ष पोखरेलले २०६५ सालमा भाडामा रहेको घरबाट १ सय वाट क्षमताबाट प्रसारण गर्दै आएको रेडियो हाल ५ सय वाट क्षमता बनाइ आफ्नै भवन निर्माण गरी प्रसारण गर्न सफल भएको बताइन् । उनले रेडियो मुक्ति कल्याणकारी कोष स्थापना गर्न सफल भएको बताइन् ।

अध्यक्ष पोखरेलले रेडियोलाई १६ औं वर्षसम्म साथ दिनुहुने श्रोता, सरकारी तथा गैरसरकारी संस्था, दातृ निकाय, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, सल्लाह सुझाव दिनुहुने सबैप्रति धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वडा नम्बर ४ का निवर्तमान अध्यक्ष टंक पराजुलीले सबैप्रकारका विभेद, हिंसा, असमानता, अमानवीय व्यवहार र रुढीवादी चिन्तनलाई निरुत्साहित गर्दै र समृद्ध समाज निर्माण गर्ने रेडियोलाई स्थापित गर्न सामाजिक हिसावले सधैं सहयोग गर्ने बताए ।

रेडियो भवन निर्माण सहयोगी समाजसेवी कुमार थापाले महिलाहरुले मात्रै सञ्चालन गरेको यो रेडियोले महिला सशक्तिकरणका लागि अझै अब्वल भएर लाग्न अनुरोध गरे । थापाले बुटवलमा रेडियो मुक्तिको सक्रियता र अभियानको मुक्तकण्ठले प्रशंसा गरे ।  

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले संस्थालाई जोगाउन बलियो कोष निमार्ण गर्न आवश्यक रहेको बताए । सामाजिक संजालबाट छरिएको भ्रम चिर्नका लागि पनि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै सोही अनुसारका विषयवस्तु उत्पादन र प्रसारण गर्न आवश्यक रहेको उनले बताए ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) का उपाध्यक्ष मिलन गाहाले रेडियो मुक्तिले सञ्चालन गर्ने कार्यक्रमले अन्तर्राष्ट्रिय जगतमा नै सकारात्मक प्रभाव पारेको बताए । 
बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले समाज परिवर्तन गर्न र मार्गदर्शनका लागि रडियो मुक्तिको योगदान अतुलनीय रहेको बताए । उनले रेडियोलाई आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष पोखरेलले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष अमृता पाण्डेले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतीले पारित भएको छ ।

कार्यक्रममा संस्थाको भवन निर्माण तथा सञ्चालनमा विशेष सहयोग गर्ने बुटवल उपमहानगरपालिकासहित वडा नम्बर ३, ४, ५, ६, ८, १० तथा विभिन्न संघ–संस्था, विज्ञापनदाता, सहयोगी र समाजसेवीलाई सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रम संस्थाका उपाध्यक्ष इन्दिरा आचार्यको स्वागत तथा स्टेशन म्यानेजर कल्पना तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो । 

दैनिक १७ घण्टा प्रसारण भइरहेको यो रेडियोमा हाल १५० जना संस्थापक सदस्यहरु छन् । रेडियोको प्रसारण रेडियो सेटमा ९५.५, इन्टरनेट अनलाईनमा रेडियोको वेवसाईट र मोबाईल एप्लीकेसनको हाम्रो पात्रोेमा रेडियो मुक्ति सर्च गरेर संसारभर सुन्न सकिन्छ । 

‘सचेत नारी सचेत परिवार, हरेक क्षेत्रमा समान अधिकार’ भन्ने मूल नाराका साथ २०६५ पुस ९ गतेदेखि रेडियोले आफ्नो औपचारिक प्रसारण आरम्भ गरेको थियो ।  रेडियो मुक्ति महिलाहरुद्वारा स्थापित र सञ्चालित नेपालको पहिलो सामुदायिक रेडियो हो ।

उत्कृष्ट कर्मचारी सम्मान 

कार्यक्रममा रेडियोकी प्राविधिक सीता पौडेल उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएकी छन् । शनिबार बुटवलमा सम्पन्न १५ आंै वार्षिक साधारणसभा तथा छैठौं अधिवेशमा पौडेललाई प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेकी थिइन् ।

स्थापनाकालदेखि अहिलेसम्म प्राविधिक शाखामा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको र रेडियोलाई पुर्याएको योगदानको कदर गर्दै पौडेललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको रेडियोका अध्यक्ष दिपु पोखरेलले बताइन् ।

त्यस्तै कार्यक्रममा रेडियोलाई पुर्याएको योगदानको कदर गर्दै रेडियोका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार सावित्रा अर्याल र अध्यक्ष खेमकुमारी पोखरेल ‘दिपु’लाई सामुदायिक रेडियो प्रसारक संघको महिला उपाध्यक्षमा निर्वाचित भएकोमा सम्मानपत्र प्रदान गरी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।