२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जहाँ लगानी हुन्छ, त्यसको पूर्ण सदुपयोगमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री आचार्य

आइतवार , मंसिर १६, २०८१

कपिलवस्तु, १६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसरोकारका योजनाहरुको अनुगमन सुरु गरेका छन् । मुख्यमन्त्री आचार्यले कपिलवस्तुको बाणगंगा नगरपालिका–७ र ८ मा रहेको बाणगंगा नदीमा भत्किएको पक्की पुल र चिस्यान केन्द्रको अनुगमन गरेका हुन् । संघीय सरकारको बजेटबाट करिब चार वर्षअघि बाणगंगा नदीमा पक्की पुल बनेको थियो । 

निर्माणसम्पन्न भएको दुई वर्षको अवधिमा पुल भत्किएपछि आवागमन अवरुद्ध छ । कपिलवस्तु र अर्घाखाँची जिल्ला जोड्ने पुल भत्किएपछि समस्या परेको भन्दै स्थानीयहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । 

अनुगमनको क्रममा मुख्यमन्त्री आचार्यले पुल पुनः निर्माणको लागि प्रदेश सरकारले पहल लिने बताएका छन् । ‘पक्की पुल बनेको तर, बनेको केही वर्षभित्रै भत्किएको अवस्था रहेछ । संघीय सरकारको आयोजना भएकाले पुनः निर्माणको लागि संघीय सरकार समक्ष प्रदेश सरकारले पहल गर्छ’उनले भने,‘नागरिकहरुले दुःख पाउनु भएको छ । कसरी हुन्छ यहाँ पुनः पुलको काम अघि बढाउन जरुरी छ ।’

जहदी–कुपुवा–बनगाई–मोतिपुर–डोटेपुर सडकखण्ड अन्तरगत बाणगंगा नदीमा उक्त पुल बनेको थियो । मुख्यमन्त्री आचार्यसहित भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल अनुगमनमा सहभागी थिए । 

त्यस्तै बाणगंगा नगरपालिका–७ मा निर्माणाधिन चिस्यान केन्द्रको पनि मुख्यमन्त्री आचार्यले अनुगमन गरेका छन् । कृषि उपज सामग्रीको सुरक्षित भण्डारणका लागि चिस्यान केन्द्र बनिरहेको हो । तर, अझै आयोजना सञ्चालनमा आउन सकेको छैन् । चिस्यान केन्द्र निर्माणको काम सम्पन्न गरेर सेवा सुचारु गर्न मुख्यमन्त्री आचार्यले सम्बद्ध पक्षमा अनुरोध गरेका छन् । ‘संरचना बन्ने तर, त्यो प्रयोगमा नआउने अवस्था छ । यस्तो अवस्था आउन दिनुहुँदैन । जहाँ लगानी हुन्छ, त्यसको पूर्ण सदुपयोगमा ध्यान दिनुपर्छ’मुख्यमन्त्री आचार्यले भने,‘प्रतिफल दिने आयोजनाहरुलाई अघि बढाउने प्रदेश सरकारको योजना छ ।’