२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

सिद्धार्थनगरमा उपप्रमुख दोस्रो महिला कप प्रतियोगिता हुँदै

बिहिवार , फाल्गुण २७, २०७७

भैरहवा, २७ फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा उपप्रमुख दोस्रो महिला कप प्रतियोगिता–२०७७ हुने भएको छ । नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ ।

सिद्धार्थनगरको गौरवको रुपमा महिला छात्राहरुलाई खेलकुदमा पहुँच सुनिश्चितता गर्न प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशिल लम्सालले बताए । उनले छात्राहरुको मात्र सहभागिता हुने यो प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको बताए । 

फागुन २८ गते शुक्रबारदेखि सुरु हुने प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरु हुने उनले बताए । जसअन्तर्गत दौड, रिले दौड, लंग जम्प, सटपुट, भलिबल र वक्तृत्कला प्रतियोगिता रहेको उनले बताए । खेलहरुलाई २ समूहमा वर्गीकरण गरिएको र समुह क अन्तर्गत कक्षा १ देखि ४ सम्म छात्राहरु तथा समूह ख अन्तर्गत कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरुको सहभागिता रहने लम्सालले जानकारी दिए । भलिबलमा र वक्तृत्वकलामा कक्षा १० सम्मका छात्राहरुको सहभागिता रहने नगरपालिकाले जनाएको छ । 

फागुन २८, २९ र चैत १ गते तीन दिनसम्म प्रतियोगिता सञ्चालन गरिने सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले बताइन् । उपप्रमुख काफ्लेका अनुसार प्रतियोगिता हुनु अघि शुक्रबार बिहान ९ बजे भैरहवास्थित बुद्धचोकबाट पञ्चेबाजासहित र्‍याली सुरु भइ मिलनचोक हुँदै शान्तिनगरस्थित संघीय प्रहरी इकाई कार्यालय, भैरहवामा पुग्नेछ । 

प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालको प्रमुख आतिथ्यता तथा संविधानसभा सदस्य आदित्य नारायण कसौधनको विशिष्ट आतिथ्यतामा हुने उपप्रमुख काफ्लेले जानकारी दिइन् । प्रतियोगिताको व्यवस्थापन सामूहिक विद्यालय परिवार रुपन्देहीले गर्ने उनले बताइन् । 

गत वर्ष माघमा सिद्धार्थनगर उपप्रमुख प्रथम महिला कप प्रतियोगिता माघमा आयोजना  थियो ।  नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाको सञ्चालनमा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको थियो ।