
आइतवार , मंसिर १६, २०८१
दाङ, १६ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार रोल्पा जिल्लामा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । रोल्पामा झोलुंगे पुल निर्माणको क्रममा माटोको ढिस्कोले पुरिएर पाँचजनाको मृत्यु भएको घटनाले स्तब्ध तुल्याएको उल्लेख गर्दै उनले मृतकप्रति श्रद्धाजली र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
निर्माणको काममा व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आयोजनाको काम बढाउन मुख्यमन्त्री आचार्यले सम्बद्ध पक्षलाई उनले निर्देशन दिए । ‘पुल निर्माणको काममा खटिएको बेलामा भएको घटनाले स्तब्ध र दुःखी बनाएको छ’मुख्यमन्त्री आचार्यले जारी गरेको श्रद्धाञ्जली वक्तत्वमा भनिएको छ,‘निर्माणको कामहरु गर्दा त्यहाँ खटिने श्रमिकहरुको सुरक्षा सुनिश्चित गरेर मात्रै अघि बढाउन अनुरोध गर्दछु ।’
रोल्पाको सुनछहरी गाँउपालिका वडा नम्बर ३ बाहिरि गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको लागी खाल्डो खनेर पर्खाल लगाउने काम चलिरहदा माथिबाट माटोको ढिस्को भत्किएर पुरिदा पाँचजनाको मृत्यु भएको थियो ।
घटनामा परेर सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम बस्ने ४५ वर्षिय दुजमन परियार, सोही ठाउँ निवासी ३१ वर्षिय ओम परियार, ४० वर्षिय सुबित्रा परियार, २७ वर्षिय आईती परियार र वडा नम्बर ३ बहिरी गाम का ६६ वर्षिय देवीराम परियारको मृत्यु भएको थियो । चारजनाको पहिलो चरणमा र एक जनाको दोस्रो चरणमा शव निकालिएको थियो ।
एल.बि.एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवा अन्तर्गत उक्त स्थानमा ७ जनाले काम गर्दै थिए । जसमध्ये दुई जना भागेर ज्यान बचाउन सफल भएका थिए । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij