
आइतवार , मंसिर १६, २०८१
कपिलवस्तु, १६ मंसिर । लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको समस्या समाधान गर्न दीर्घकालिन योजनालाई प्राथमिकतामा राखेको छ । एकीकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्ने गरी कार्यक्रम तर्जुमा गरिने भएको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले छाडा पशु चौपायाको समस्या समाधान गर्न समुदायस्तरमा एकीकृत गौशाला निर्माण गरेर नश्ल सुधार गर्ने र उत्पादन क्षमता बढाउने सम्मका योजना अघि सारिने बताए ।
बाणगंगा नगरपालिका–८ मधवुन कपिलवस्तुस्थित भागीरथी गौ–संरक्षण विकास केन्द्रको आइतबार अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले छाडा पशुचौपायाको दीर्घकालिन समस्या समाधान गर्ने गरी प्रदेश सरकारले नीति तर्जुमा गर्ने बताए ।
‘उत्पादन दिन छाडेपछि पशुचौपायालाई छाडा छोड्ने समस्या बढ्दो छ । यसरी छाडिएका पशुचौपायाका कारण समुदायमा किसान र स्थानीयलाई हैरानी हुने, लगाएका खाद्यान्न, तरकारीबालीमा हानी नोक्सानी गर्ने, सडक दुर्घटना भएको अवस्था पनि छ’उनले भने,‘समुदायको परिचालन र सक्रियताबाट छाडा पशु चौपायाको नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण यो गौशालाले दिएको छ ।’
गौशालामा पालिएका पशुचौपायाबाट दुध उत्पादन बढाउन सकिने, गाईको गोबर, पिसाव संकलन गरेर प्राकृतिक मल बनाउन सकिने भएकाले यसखाले परियोजना सञ्चालन गर्न जरुरी रहेको बताए । ‘यहाँहरुले थाल्ने नविनतम काममा प्रदेश सरकारले साथ दिन्छ । अहिले यहाँहरुले उठाएको सिंचाई र खानेपानीको समस्या समाधान गर्न आगामी वर्षको बजेट निर्माण गर्दा ध्यान दिन्छौं’उनले भने,‘समुदायको सक्रियताबाट नै रचनात्मक कामहरु गर्न सकिन्छ । प्रदेश सरकारले समुदाय परिचालनमा समेत जोड दिएको छ ।’
लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा छाडा पशुचौपायाको समस्या बढ्दो छ । हरेक जिल्लामा गौशाला समेत निर्माण गरिएका छन् । ती गौशालाको संरक्षण र विकास गर्दै छाडा पशु चौपायालाई पनि उत्पादन संग जोड्नेगरी प्रदेश सरकारले कार्यक्रम बनाउने तयारी गरेको हो । गौशालामा पालिएका गाईलाई पानी खुवाउन र भएको जमिनमा सिंचाई गर्न असुविधा भएको भन्दै बजेट विनियोजन गर्न भागीरथी गौ–संरक्षण विकास केन्द्रका अध्यक्ष चक्रबहादुर भण्डारीले अनुरोध गरेका थिए । हाल गौशालामा करिब एक सय ५० गाई, गोरु, बाच्छाबाच्छि पालिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij