२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्वास्थ्य क्षेत्रको सुधारमा लागिपरेका छौं : स्वास्थ्यमन्त्री सारु

आइतवार , मंसिर १६, २०८१

भैरहवा, १६ मंसिर । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले स्वास्थ्य क्षेत्रको सुधारमा लागिपरेको बताएका छन् । उनले स्वास्थ्य क्षेत्र सुधार गर्न मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ५५ बुँदा लिएरअगाडि बढेको बताए ।

भीम अस्पताल भैरहवा, रुपन्देहीले आइतबार आयोजना गरेको अस्पतालबाट प्रवाह हुने सेवा तथा गुणस्तरकोबारे छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो बताएका हुन् । उनले भीम अस्पतालप्रति सेवाग्राहीको विश्वसनीयता बढ्नु सकारात्मक पक्ष भएको बताए । 

‘अस्पतालको स्तरोन्नतिमा लाग्नुपर्छ । यो अस्पतालमा बिरामीको चाप बढेको छ । सरसफाईमा ध्यान दिइएको छ उनले भने, यो कायम राख्नहोला । नेतृत्व र व्यवस्थापन महत्वपूर्ण कुरा हो । अस्पतालले महिला नेतृत्व पाउनु महिला सशक्तिकरणको उदाहरण हो । भीम अस्पतालमा आउँदा सेवाग्राहीको भिड देख्नु खुसीको विषय भएको बताए । रोग लाग्नु राम्रो विषय होइन । तर, यस किसिमको विश्वसनीयता बढ्नु राम्रो हो ।’ 

मन्त्री सारुले राम्रा भएका कुरालाई प्रवद्र्धन गर्नुपर्ने र सुधार्नुपर्ने कुरालाई पैरवी गर्दै जानुपर्नेमा जोड दिए । उनले औषधी खरिद र फार्मेसी सेवालाई व्यवस्थित र पारदर्शी बनाउँदै लैजानुपर्ने बताए । ‘भनसुन, प्रभाव र दबाबमा काम गर्दा सिस्टम बिग्रका छन्, अस्पतालमा ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर लाइन नबस्ने गरी वातावरण बनाउनुपर्छ । उनले भने, ‘१ सय शैयाको अस्पतालको आवश्यकता छ ।’ 

मन्त्री सारुले मानसिक र सामाजिक स्वास्थ्यमा पनि जोड दिनुपर्ने बताए । चिकित्सकको परामर्श बिरामीका लागि अमृत जस्तै हुने उनको भनाइ छ । उनले भने, ‘हामी जनताका सेवक हौं, हामी सबै जवाफदेही हुनैपर्छ । जनप्रतिनिधि भनेको सरकार र जनताको बीचमा पुलको काम गर्ने हो । केही अस्पतालमा अध्यक्ष र मेसुबीच ट्युनिङ मिलेको छैन । यसको पनि समस्या सिर्जना गर्छ । ’ 

उनले हरेक संघ–संस्थाको सामाजिक परीक्षण गर्न जरुरी रहेको भन्दै यसले संस्था कहाँ छ भन्ने कुरा थाहा हुने बताए । उनले वर्तमान सरकार जनतामा आशा जगाउने अभियानमा लागेको दावी गरे ।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले आम जनताले मुख्यत शिक्षा र स्वास्थ्यको विकास खोजेको बताए । उनले नेपालमा काम नगर्नु पनि एउटा काम भए जस्तो बुझिने गरिएको बताए ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. वासुदेव उपाध्यायले भीम अस्पतालमा धेरै परिवर्तन आएको बताए । उनले स्वास्थ्यकर्मीलाई अस्पतालमा बस्ने वातावरण बनाउनु समाजको दायित्व भएको बताए । उनले अस्पतालमा बेडको संख्या भन्दा पनि सेवा विस्तारमा जोड दिनुपर्ने बताए ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले विकास भनेको सकारात्मक परिवर्तन भएको बताए । उनले सबै कुरालाई नकारात्मक रुपमा सोचे नकारात्मक रुपमा जाने बताए । 

लुम्बिनी प्रदेश सरकारका ग्रामीण विकास विज्ञ युवराज घिमिरेले स्वास्थ्य क्षेत्रमा आफ्नो अनुभव भएको बताए । उनले आफू रुपन्देहीबासी भएकाले आगामी छलफलहरुमा पनि सँगै हुने बताए ।

लायन्स डिष्ट्रिक इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका पाष्ट डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले अस्पताललाई लायन्सले सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले भीम अस्पतालबारे आफूलाई धेरै जानकारी भएको बताए ।

भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले आफूलाई अध्यक्ष भन्दा पनि कर्मचारीको रुपमा बुझ्न आग्रह गरे । उनले सम्पूर्ण अस्पतालका अध्यक्षहरुलाई बोलाएर समस्याबारे जानकारी लिन स्वास्थ्यमन्त्रीसँग आग्रह गरे ।

अस्पताल प्रमुख डा. शकुन्तला गुप्ताले भीम अस्पतालप्रति नागरिकको भरोसा रहेको बताइन् । उनले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न लागिपरेको बताइन् । उनले प्रयाप्त जनशक्ति नहुँदा काम गर्न कठिन रहेको उल्लेख गरिन् ।

अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले यसअघि भएका राम्रा कामलाई निरन्तरता दिदै सेवाहरु अझै थप्नुपर्ने बताए । उनले आफूले कोभिड महामारीमा अस्पतालको नेतृत्व सम्हालेको र त्यति बेला धेरै सहयोग जुटेको बताए ।

नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगरका उपाध्यक्ष मेराज खानले अस्पतालको विकासका लागि सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले विपन्न वर्गलाई बाहिर औषधि किन्न समस्या हुने भएकाले यसतर्फ अस्पतालले ध्यान दिनुपर्ने बताए ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सिद्धार्थनगरका अध्यक्ष मोहम्मद बसिर मुसलमानले भवन मात्र बनाएर नहुने भएकाले उपकरणहरु पनि अस्पतालमा हुनुपर्ने बताए ।
लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय सह–महासचिव उमेश अग्रहरीले भीम अस्पताललाई सरकारले उपेक्षा गर्न नहुने बताए । उनले सरकारले अस्पताललाई आवश्यक जनशक्ति उपलब्ध गराउनुपर्ने बताए ।

स्वास्थ्यकर्मी शेषमणि यादवले भीम अस्पताललाई राम्रो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले यो अस्पतालको टीम राम्रो रहेको दावी गरे । स्थानीय मनिष तामाङले सरकारी अस्पतालबाट रिफर गर्न नपर्ने वातावरण बनाउनुपर्ने बताए । उनले भीम अस्पतालमा विगत भन्दा सुधार भएको बताए । 

भीम अस्पतालका व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

सो अवसरमा स्वास्थ्यमन्त्री सारुले भीम अस्पतालको निरीक्षण समेत गरेका थिए ।