२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागीता सुनिश्चित गर्छौं : मुख्यमन्त्री आचार्य

मंगलवार , मंसिर १८, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • दाङ, १८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न कानूनी आधार तयार पार्ने काम भइरहेको बताएका हुन् ।

    अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले अपांगता भएका व्यक्तिहरुको हकअधिकार सुनिश्चित गर्दै प्रदेशमा अपांगता समन्वय समिति गठन, अपांगमैत्री पूर्वाधार निर्माण गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।

    ‘नेपालको संविधानले अपांगता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ । 

    लुम्बिनी प्रदेश सरकार अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्दै एकीकृत सेवा प्रवाहको सहजताको लागि प्रादेशिक तहमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी गराउँदछु’शुभकामना सन्देशमा भनिएको छ,‘शिक्षा, स्वास्थ्य, रोजगारी लगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा, सुविधा र अवसरहरूमा अपांगता भएका व्यक्तिहरूको समान पहुँच स्थापित गर्दै राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागतिालाई सुनिश्चित गर्न प्रदेश सरकारले कानूनी आधार समेत निर्माण गरेर अघि बढ्ने कुरा यसै अवसरमा जानकारी गराउन चाहन्छु ।’ 

    त्यस्तै मुख्यमन्त्री आचार्यले अपांगतामैत्री संरचना निर्माणको काममा प्रदेश सरकारले प्राथमिकतामा राखेको समेत जानकारी गराएका छन् । पुराना संरचामा सुधार र नयाँ संरचना पूर्ण अपांगमैत्री बनाउने काम भइरहेको उनको भनाइ छ । 

    अपांगता भएका व्यक्तिहरूको अधिकार प्रवर्धन, समावेशीकरण र सशक्तिकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई ‘अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’ का रूपमा विश्वभर मनाउने गरिएको छ । यस वर्ष ’समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।