२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी महोत्सवमा बुद्धस्थल भ्रमणका लागि टूर प्याकेज

मंगलवार , मंसिर १८, २०८१

भैरहवा, १८ मंसिर । लुम्बिनी राष्ट्रिय महोत्सव अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी टूर प्याकेज घोषणा गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा यही मंसिर २० देखि पुस १ गतेसम्म भैरहवास्थित अञ्चलपुरमा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव -२०८१ हुँदैछ । संघले मेला आउने आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी टूर प्याकेज ल्याएको हो ।

प्याकेजमा बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम लगायत बुद्धस्थलसँग सम्बन्धित क्षेत्र समेटिएको छ । संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा विशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था गराइएको जनाए । ‘यसले मेला आउने दर्शकलाई उत्साह थप्ने हामीले विश्वास गरेका छौं’, उनले भने, ‘ट्राभल एजेन्सीहरुसँग सहकार्य गरी प्याकेज बनाइएको हो ।’

आयोजकका अनुसार टूर प्याकेजमा भारतीय र तेस्रो मुलुकका पर्यटकलाई बढी केन्द्रित गरिएको छ । टूर प्याकेज सामान्य अवस्थामा भन्दा ३०–४० प्रतिशतसम्म सस्तो हुनेछ । महोत्सवमा टिकट काटेका आधारमा छुट सुविधा दिइने अध्यक्ष श्रेष्ठले बताए । बेलहिया मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो । यहाँबाट मुलुक प्रवेश गर्ने भारतीय र तेस्रो मुलुकका पर्यटकलाई मेलास्थलसम्म ल्याएर स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्य आयोजकको छ ।

‘महोत्सव अवधिमा बेलहियाबाट मुलुक भित्रिने पर्यटक मेला स्थलमा आएर टिकट काटेर अवलोकन गरेमा कम्तीमा हाम्रो उत्पादनको अन्तर्राष्ट्रियरुपमा बजारीकरण हुन्छ भन्ने विश्वास छ’, अध्यक्ष श्रेष्ठले भने, ‘यसैले टूर प्याकेजमा टिकट अनिवार्य गरिएको हो ।’ समूहमा आउने पर्यटकलाई टूर प्याकेजमा विशेष छुट समेत दिइने छ ।

टूर प्याकेजले महोत्सव र बुद्धसँग सम्बन्धित स्थलहरुको थप प्रचारप्रसार र प्रवद्र्धन हुने विश्वास लिइएको छ । ‘टूर प्याकेज लिन कति आउनुहुन्छ अहिल्यै भन्न सकिँदैन तर महोत्सवमा आएर प्याकेज लिएर घुम्दा पर्यटक र हामी सबैलाई फाइदा हुन्छ’, उनले भने, ‘यसैले हामीले केही ट्राभल एजेन्सीहरुलाई प्याकेजबारे प्रचारप्रसार गर्न अनुरोध गरेका छौं ।’
आयोजकले तेस्रो मुलुक र भारतीय पर्यटकले प्याकेज बढी मात्रामा लिने विश्वास गरेका छन् । प्याकेज पर्यटकले भनेअनुसार समयावधिको हुने जनाइएको छ । 

महोत्सव प्रचारप्रसार समितिका संयोजक एवं संघका सचिव मंगल भण्डारीले भारतीय र तेस्रो मुलुकका पर्यटकले बुद्धस्थलसँग सम्बन्धित स्थलहरु बढी मात्रामा घुम्न खोज्ने भएकाले टूर प्याकेज धेरै विक्री हुने अनुमान गरिएको जनाए । उनका अनुसार महोत्सवबारे नजिकका भारतीय बजारहरुमा प्रचारप्रसार गरिएको छ । यसका साथै भारतीय विभिन्न एजेन्सी र व्यापारीहरुमार्फत् विभिन्न सहरहरुमा महोत्सव र टूर प्याकेजबारे जानकारी गराइएको छ । 

मर्चवारदेखि मुस्ताङसम्मका उत्पादन महोत्सवमा राखिने र राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहने भएकाले विदेशी पर्यटकले यहाँ आएर आनन्द लिने तथा विभिन्न परिकारको स्वाद चाख्ने विश्वास भण्डारीले गरे ।