२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लैंगिक हिंसा प्रभावितहरुलाई लक्षित गरेर लुम्बिनीमा पुर्नस्थापना गृह बनाइँदै

बिहिवार , मंसिर २०, २०८१

दाङ, २० मंसिर । लुम्बिनी प्रदेशमा पुर्नस्थापना गृह निर्माण गरिने भएको छ । लैंगिक हिंसा प्रभावितहरुको पुर्नस्थापनाको लागि पुर्नस्थापना गृहको आवश्यकता परेको हो । एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा दाङको घोराहीमा पुर्नस्थापना गृह बनाउन थालिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ । 

एसियाली विकास बैंकका प्रतिनिधि मण्डलसँगको भेटमा मुख्यमन्त्री चेतनारायण आचार्यले जग्गा प्राप्तीको काम अन्तिम चरणमा पुगेको, लगत्तै भवन निर्माणको ठेक्काको काम अघि बढ्ने जानकारी दिए । ‘हिंसामुक्त समाज निर्माण गर्ने प्रदेशको संकल्प छ । यसकालागि हिंसा प्रभावितहरुको न्यायमा सहज पहुँच पुर्‍याउन, समाज र घर परिवारमा पुर्नस्थापनाको लागि पुर्नस्थापना गृहको आवश्यकता परेको हो’मुख्यमन्त्री आचार्यले भने,‘सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको संकल्प छ ।’ 

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले हिंसा प्रभावितहरुको न्यायको लागि अन्य क्षेत्रहरुमा पनि पुर्नस्थापना गृहको आवश्यकता रहेको औंल्याए । 

यसैबीच एडीबीको अनुदान सहयोगमा प्रदेशका पाँच जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माणको काम पनि अघि बढेको छ । रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, बर्दिया र अर्घाखाँचीस्थित प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण गर्न थालिएको हो ।

महिला समुत्थान परियोजना अन्तरगत  सेवा केन्द्र र पुर्नस्थापना गृह निर्माणको प्रक्रिया अघि बढेको हो । लैंगिक हिंसा न्यूनीकरण गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित परियोजना लागू भएको छ ।