
बिहिवार , मंसिर २०, २०८१
भैरहवा, २० मंसिर । रुपन्देहीको तिलोत्तमा आर्थिक वर्ष ०८१/०८२ को नीति, योजना तथा कार्यक्रमको प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नगर कार्यपालिकाका सदस्य, विषयगत शाखा अन्तर्गतका सम्पूर्ण शाखाहरूका प्रमुख तथा प्रतिनिधिहरुबाट गत प्रथम चौमासिक प्रतिवेदनसहित भए गरेका कार्यहरुमाथि घनिभूत छलफल तथा अन्तरक्रिया गरी नगरपालिकामा सुरु भएका योजना तथा चौमासिक प्रगति प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाको समग्र विकासका लागि कर्मचारी र जनप्रतिनिधि मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले नगरपालिकाले सारेका आयोजनाहरुको समयमै काम सम्पन्न गर्नेमा आफूहरु विश्वस्त रहेको बताउदै सबै योजना समयमै सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बेला आएको बताए । हालसम्म भएका कार्यहरुको सूची हेर्दै नगरप्रमुख खाणले खुसी ब्यक्त गर्दै कर्मचारी र जनप्रतिनिधि एक सिक्काका दुई पाटा भएको बताए । उनले जनताको सेवकको रुपमा छिटोछरितो, विश्वसनीय तरिकाले समयमै बिना झनझटिलो कार्यसम्पादन गरेमा मात्र जनप्रतिनिधिको चाहना र देशको समृद्धिको खुड्किलो पुरा हुने बताए ।
त्यस्तै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरको समृद्धिका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । उनले नगरका हरेक गतिविधिलाई जनताको नजिक लैजानुपर्ने र विकाससँग जोड्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारी मिलेर अगाडि बढ्नुपर्ने बताए । हालसम्मको नगरपालिकाको समग्र कार्य निकै उत्कृष्ट रहेको दावी गर्दै उनले जनतालाई सेवा दिने पक्षमा र विकासको सिंगो खाका कोर्ने कुरामा कुनै कसर बाँकी राख्न नहुने बताए ।
जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कार्यालयको समग्र आय, व्यय र योजना तथा विकास निर्माण र सेवा प्रवाहको अवस्थाबारे विश्लेषण गरेका थिए । त्यस्तै विषयगत शाखा प्रमुखहरुले आ–आफ्ना शाखामार्फत भए गरेका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रशासन योजना तथा अनुगमन शाखा अधिकृत माधव प्रसाद पोखरेलले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij