
बिहिवार , मंसिर २०, २०८१
भैरहवा, २० मंसिर । लियो क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले बुधबार सामूदायिक विद्यालयमा सेनेटरी प्याड डिस्पोजल मेसिन जडान तथा हस्तान्तरण गरेको छ । ६७ औं अन्तर्राष्ट्रिय लियो सप्ताह अन्तर्गत छैठौं दिन सिद्धार्थनगर नगरपालिका–८ स्थित श्री रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयलाई मेसिन हस्तान्तरण गरिएको क्लबका संस्थापक अध्यक्ष सन्दिप कसौधनले बताए । त्यस्तै महिला सशक्तिकरण र स्वास्थ्य, सरसफाई सम्बन्धि कार्यक्रम गरिएको कसौधनले बताए । विद्यालयमा अध्ययन गर्ने छात्रालाई महिनावारीको समयमा सहज होस् भन्ने उद्देश्यले मेसिन जडान गरिएको उनले बताए ।
‘सेनिटरी प्याडको प्रयोगपश्चात प्याडको व्यवस्थापनमा समस्या हुने गरेकाले नष्ट गर्ने मेसिन जडान र हस्तान्तरण गरिएको हो । अध्यक्ष कसौधनले भने, ‘सेनिटरी प्याड प्रयोग गरेपछि सहज व्यवस्थापनका लागि डिस्पोजल मेसिनले सहयोग गर्छ ।’ भैरहवामा पहिलोपटक (विद्यालयमा) यो मेसिन जडान गरिएको उनले दावी गरे ।
कार्यक्रममा प्रमुख अतिथि लियो डिष्ट्रिक ३२५ पी, नेपालकी प्रेसिडेन्ट श्रद्धा कुंवरले लियो सिद्धार्थनगर गौतमबुद्धले स्थापनाकालदेखि नै रचनात्मक कार्य गर्दै आएको बताइन् । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन् ।
कार्यक्रममा लियो सिद्धार्थनगर गौतमबुद्धका सल्लाहकार गौतम गुप्ता, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका अध्यक्ष सफि खान, लियो डिष्ट्रिक ३२५ पी का एरिया चिफ मनिष ढकाल, श्री रुपन्देही लिलाराम न्यौपाने माविका प्रधानाध्यापक रुप कुमार रायमाझी, कार्यक्रमको प्रशिक्षक पुजा खनाल, कार्यक्रम संयोजक सुमित पराजुली लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij