२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शुक्रबारदेखि बुटवलमा प्रथम मगर साहित्य महोत्सव

बिहिवार , मंसिर २०, २०८१

बुटवल, २० मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने शुक्रबार (भोली) देखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदैछ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवका लागि उपसभामुख इन्दिरा रानासहित विभिन्न व्यक्तित्वहरु बिहीबार नै बुटवल आइपुगेका छन् । 

महोत्सवमा मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्परको संक्षणमा टेवा पुग्ने गरी पुस्तक प्रदर्शनी, मगर भाषामा कविता वाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी तथा विक्री, साँस्कृतिक झाँकीहरु, पुस्तक विमर्श, वृत्तचित्र प्रदर्शन तथा छलफल तथा विभिन्न प्यानल डिस्कशन गरिने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । 

त्यसै गरी गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिंजाली र रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने उनले जानकारी दिए । 
बुटवलको जितगढी किल्लामा आयोजना गरिने महोत्सवमा उपसभामुख इन्दिरा रानाको उपस्थितिमा ‘उत्थान अभियानदेखि उपसभामुखसम्म’ विषयक प्यानल डिस्कशन हुने प्रचार समिति संयोजक यम रानाले जानकारी दिए । त्यसै गरी पूर्वसभामुख ओनसरी घर्ती मगरको उपस्थितिमा ‘मगर महिलाः राजनैतिक र सामाजिक नेतृत्वको सवाल र सम्भावना’ विषयक प्यानल डिस्कशन हुने उनले जानकारी दिए । चर्चित नायिक मिरुना मगरको उपस्थितीमा ‘मगर युवा : कलाले देश चिन्दै र चिनाउँदै’ शिर्षकमा छलफल हुनेछ । 

अन्य प्यानल डिस्कशनतर्फ ‘भाषा पहिचान : मगर जाति र मातृ भाषाको प्रश्न’ विषयमा छलफल हुनेछ । त्यसै गरी ‘नेतृत्व र जवाफदेहीता : मगर हिजो, आज र भोलिको प्रश्न’, ‘२१ औं शताब्दीः मगर समुदायको पुनःदयको युग’, ‘साहित्य धर्म तथा संस्कृति हराए के हुन्छ ? स्वबोध र दिशाबोध’ लगायतका विषयमा प्यानल डिस्कशन हुने प्रचार समितिका संयोजक रानाले जानकारी दिए । 

त्यसै गरी महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती रहने प्रचार प्रसार समितिका संयोजक यम रानाले जानकारी दिए । 

महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी तीनवटै भाषामा कविता वाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिइन् । 

उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमश ः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद राशीले सम्मान गरिनेछ । त्यसै गरी सान्त्वना हुने दुईजनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशीले सम्मान गरिने थापाले जानकारी दिइन् ।