२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमामा वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीलाई तालिम

बिहिवार , मंसिर २०, २०८१

तिलोत्तमा, २० मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजनाहरुको कार्यान्वयन र ती योजना सञ्चालन सम्बन्धी एकदिने अभिमुखीकरण तालिम दिएको छ । तिलोत्तमा वडा नम्बर ३ र ४ का वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीहरुका लागि बिहीबार तालिम दिइएको हो । 

तालिममा नगरपालिकाबाट विनियोजित बजेट, नगर योजनाहरुको लागत स्टिमेट, गुणस्तरीय काम गरेर समयमै पारदर्शी रुपमा निर्माण कार्य सम्पन्न गर्नका लागि अभिमुखीकरण कार्यक्रमले सहयोग पुग्ने तिलोत्तमा–४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीले बताए । 

नगरपालिकाको वडा नम्बर ३ र ४ का टोल विकास समिति अध्यक्षहरु, सबै उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत पदाधिकारीहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको क्षेत्रीले बताए । 

उपभोक्ता समितिमार्फत सम्पन्न हुने नगरस्तरीय योजनालाई विश्वसनीय र पारदर्शी बनाउन वडामा पुगेर उपभोक्ताहरुलाई तालिम तथा अभिमुखीकरण सञ्चालन गरिएको तिलोत्तमा–३ का वडाअध्यक्ष कल्याण पौडेलले बताए । कार्यक्रममा नगरपालिकाका वरिष्ठ इन्जिनियर प्रदिप वन, लेखा अधिकृत रमेश बस्याल र योजना शाखाका पशुपति खनालले सहजीकरण गरेका थिए । 

कार्यक्रममा योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता समितिहरूलाई नीतिगत र प्राविधिक दुवै पक्षमा विशेष अभिमुखीकरण गराइएको थियो । 

योजना सम्झौताका लागि आवश्यक पर्ने कागजातहरु, उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, उपभोक्ता समितिले समाजमा खेल्नुपर्ने भूमिका, कार्यसम्पादन विकास गर्दा ध्यान दिनुपर्ने कामको विवरण, दोहोरो हाजिरी फारम भर्ने तरिका, काम सम्पन्न गरेपछि फरफारक गर्दा भर्नुपर्ने विवरण, सचेत उपभोक्ताले जिम्मेवारी योजनाको समय  अवधि, लागत र उपभोक्ताको योगदान, जनश्रमदान, त्यसको महत्व, सुशासन, पारदर्शीता, भ्रष्टाचार न्यूनीकरण, विकास निर्माण सामग्रीको गुणस्तर र परिमाण खरिद लगायतका विषययमा सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो ।

d855b574-9c5a-4b36-a478-1739cd179e9c.jpg

त्यस्तै रकम निकासा प्रक्रिया, खर्चको लेखांकन र अभिलेख व्यवस्थापन, योजना कार्यान्यन र अनुगमन प्रक्रिया, सार्वजनिक परीक्षण, योजनाको फरफारक र हस्तान्तरण, उपभोक्ता समितिको खाता सञ्चालन र भुक्तानी प्रक्रियाको विषयमा उपभोक्ता समितिका पदाधिकारी एवं टोल विकास समितिका अध्यक्षहरुलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा नगरपालिका योजना शाखाकी अधिकृत सीता भण्डारी, तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडा सचिव काशीराम ज्ञवालीलगायतले अभिमुखीकरण तालिमले उपभोक्ता समितिका पदाधिकारीहरुलाई कार्यसम्पादनमा सहयोग पुग्ने बताएका थिए ।