
शुक्रवार , मंसिर २१, २०८१
बुटवल, २१ मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने शुक्रबारदेखि सुरु प्रथम मगर साहित्य महोत्सवको पहिलो दिन विविध कार्यक्रम सम्पन्न भएका छन् । महोत्सव अन्तरगत पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शन, मातृभाषामा कविता वाचन प्रतियोगिता, पुस्तक विमोचन लगायतका कार्यक्रम सम्पन्न गरिएको महोत्सव आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए ।
महोत्सवको पहिलो दिन ‘एक पत्रकारको वकपत्र’ पुस्तकबारे लेखक वरिष्ठ पत्रकार खिध्वज थापासँग साहित्यकार गिरी श्रीसले सहजीकरण गरेका थिए ।
त्यसै गरी कविता प्रतियोगितामा १० जनाको सहभागीता रहेको थियो भने तीनवटा पुस्तक विमोचन गरिएको प्रवक्ता गाहाले जानकारी दिए । महोत्सवमा मानवशास्त्री डा. सुरेश ढकालले ‘भेजा प्रथा : मगर जातिको संगठन र अर्थ सशक्तिकरणको अनुपम दर्शन’ विषयमा प्रस्तुती दिएका थिए ।
त्यस्तै ‘मगर जाति र मातृ भाषाको प्रश्न’ विषयमा डा. विष्णु सिंजाली, भाषविद कर्ण बहादुर बुढा, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी र सुनछहारी गाउँपालिका अध्यक्ष धनबहादुर पुनसँग सहजकर्ता पत्रकार स्याम रानाले प्यानल डिस्कशन गरेका थिए ।
मगर जातिमा झाँक्री प्रथाका विषयमा गोपाल आचार्यले तयार पारेको ‘आखत’ भन्ने वृत्तचित्र प्रस्तुत गर्नुका साथै यस विषयमा छलफल गरिएको महोत्सव प्रचार समितिका संयोजक यम रानाले जानकारी दिए ।
शनिबारसम्म सञ्चालन हुने मेहोत्सवमा थप प्यानल डिस्कशन तथा साँस्कृतिक कार्यक्रमरु समेत आयोजना हुने महोत्सव व्यवस्थापन समिति संयोजक केशरी तरामुले जानकारी दिइन् । उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको महोत्सवलाई पूर्वसभामुख ओनसरी घर्तीमगरले समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिइन् ।
महोत्सवको प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा राना मगरले एक समारोहका बीच उद्घाटन गरिन् । सो अवसरमा बोल्दै उपसभामुख रानाले मगरहरुको सबैभन्दा ठूलो इमानदारीता भएको सोझोपन र बहादुरी भएको बताइन् । साथै उपसभामुख रानाले मगरहरुले देशलाई अहिलेको अवस्थामा ल्याउनका लागि महत्वपूर्ण योगदान दिएको बताइन् । रानाले मगर महिलाहरुले नै महोत्सवको आयोजना गरेकोमा खुशी व्यक्त गरिन् ।
यस्तै बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलले सबै समुदायलाई समान रुपमा व्यवहार गर्ने गरेको बताए । उनले बुटवल उपमहानगरपालिकाले मगर भाषाको नागरिक वडापत्र ल्याएको समेत बताए ।
मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्परको संक्षणमा टेवा पुग्ने गरी ‘आफ्नो कथा आफै लेखौं’ भन्ने मूल नाराकासाथ महोत्सव आयोजना गरिएको नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष तथा मूल आयोजक समिति संयोजक निर्मला थापाले जानकारी दिइन् ।
महोत्सवमा गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिंजाली र रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने समेत उनले जानकारी दिइन् । बुटवलको जितगढी किल्लामा आयोजित महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशनका कार्यक्रम रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij