
शनिवार , मंसिर २२, २०८१
लुम्बिनी, २२ मंसिर । बुद्व जन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै शनिबार दीप प्रज्वलन तथा पुजा गरिएको छ । प्रसिद्ध बौद्ध धर्मगुरू क्याबगोंगमा शाक्य त्रिचेन रिन्पोछेले मायाँदेवी मन्दिरमा दीप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेका हुन् । दीप प्रज्वलन पश्चात् भएको कार्यक्रममा बोल्दै रिन्पोछेले लुम्बिनीबाट विश्व शान्तिको प्रयास गर्नुपर्ने बताए ।
रिन्पोछेलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले भगवान बुद्वको जन्मस्थलमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे ।
भगवान बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको स्थान बोधगया, सर्वप्रथम धर्मदेशना गरेको स्थान सारनाथ र महापरिनिर्वाण भएको स्थान कुसीनगरलाई महत्वपूर्ण स्थान बताएको उल्लेख गर्दै जीवनमा एकपटक सबैले लुम्बिनी आउनुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीमा धर्मगुरूले आउनु सुखद कुरा भएको बताए ।
लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीमा कोरोनाका कारण रोकिएको पुजा पुन सञ्चालन भएकोमा खुसी व्यक्त गरिन ।
उक्त अवसरमा रिपोन्छेलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र कार्यकारिणी सदस्य श्याम रोक्काले स्वागत गरेका थिए । शाक्य मोन्लम पूजाको पूर्वसन्ध्यामा विश्व शान्तिको कामना सहित दीप प्रज्जवल गरिएको कार्यकारिणी सदस्य श्याम रोकाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij