२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

विभिन्न कार्यक्रम गरी लुम्बिनी निर्माण व्यवसायी संघले मनायो १७ औं निर्माण दिवस

सोमवार , मंसिर २४, २०८१

भैरहवा, २४ मंसिर । लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले १७ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा तीनदिने कार्यक्रम गरेको छ । संघले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विविध गतिविधि सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रमको पहिलो दिन संघको कार्यालय परिसरमा दीप प्रज्वलन गरी दिवसको औपचारिक सुरुवात गरेको थियो । दोस्रो दिन संघले तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा १९ जना बालबालिका र कार्यरत सहयोगीहरुलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको थियो । तेस्रो तथा अन्तिम दिन संघले ‘रक्तदान जीवनदान’ भन्ने नाराकासाथ रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममा ४० यूनिट रगत संकलन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले निर्माण व्यवसायीहरू समाजको मेरुदण्ड भएको भन्दै व्यवसायीहरूको योगदानको प्रशंसा गरे । उनले भने, ‘निर्माण व्यवसायीहरू मात्र भवन र संरचना निर्माण गर्ने होइनन्, सामाजिक एकता र विकासको आधारशिला पनि निर्माण गर्छन् । तपाईहरूको योगदानले समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । यस्तो कार्यक्रमले समाज सेवा र परोपकारको भावना बलियो बनाउँछ ।’ 

लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मञ्जु भुसालले संस्थाले हरेक वर्ष निर्माण दिवसलाई समाजसेवाको माध्यमबाट मनाउँदै आएको बताइन् । उनले भनिन्, ‘हाम्रो उद्देश्य निर्माण क्षेत्रमा मात्र सीमित नराखी समाजलाई सेवा दिनु पनि हो । यसपटक अनाथ बालबालिकाका लागि कपडा र खाद्यान्न वितरण तथा रक्तदान कार्यक्रमले संघको दायित्वप्रतिको प्रतिबद्धता झल्काउँछ ।’  

अध्यक्ष भुसालले निर्माण व्यवसायीहरु सामाजिक कार्यमा पनि अग्रसर हनुपर्ने सन्देश रुपन्देही शाखाले दिएको भन्दै अन्य जिल्लाहरु र प्रदेशहरुले पनि यस्ता खलका सामाजिक कार्यमा निर्माण व्यवसायी जोडिनुपर्ने धारणा व्यक्त गरिन् ।

संघका सल्लाहकार जविन कक्षपतिले निर्माण व्यवसायीहरूले समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले भने, ‘हामी व्यवसायीहरूले व्यवसायसँगै सामाजिक जिम्मेवारी पनि बिर्सनुहुँदैन । यस्ता कार्यक्रमले हामी सबैलाई एकता र सहयोगको भावना प्रदान गर्छ ।’

तीनदिने कार्यक्रममा स्थानीय व्यवसायी, संघका पदाधिकारी, सल्लाहाकार, सदस्यहरू र विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सफलतामा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा संघले सामाजिक सेवाका क्षेत्रमा अझ ठूला कदम चाल्ने योजना बनाएको र जसमा समुदायको प्रत्यक्ष सहभागीता रहने संघका महासचिव प्रितम रौनियारले बताए ।