२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

मानव अधिकारको रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

मंगलवार , मंसिर २५, २०८१

  • 670
    Shares
  • 670
    Shares
  • बाँके, २५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगञ्जमा निर्माण भएको मानव अधिकार सूचना तथा स्रोत केन्द्र भवनको उद्घाटन गरेका छन् । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्माण गरेको मानव अधिकार सूचना तथा स्रोत केन्द्र भवनको मुख्यमन्त्री आचार्यले मंगलबार उद्घाटन गरेका हुन् ।

    भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मानव अधिकारको रक्षा र प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले समाजमा रहेका हरेक व्यक्तिलाई समान अवसर र सम्मानपूर्वक जीवनयापनको वातावरण सृजना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

    न्यायपूर्ण र समतामूलक समाज निर्माणको लागि साझा ऐक्यबद्धता आवश्यक रहेको र त्यसका लागि प्रदेश सरकारले समन्वयको भूमिका निर्वाह गर्ने समेत स्पष्ट पारे । ‘मानव अधिकार समाजको प्रगितसँंग जोडिएको छ । हामीले न्यायपूर्ण र समतामूलक समाजको परिकल्पना गरेका छौं । त्यसका लागि मानव अधिकार सुनिश्चित हुन जरुरी छ’उनले भने,‘मानव अधिकारको प्रत्याभूतिका लागि प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नेमा प्रतिबद्धता जनाउन चाहन्छु ।’ 

    लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा द्वन्द्वको चपेटामा परेको, त्यसबाट उत्पन्न समस्याले अहिले पनि मानव अधिकार प्रत्याभूति हुन नसकिरहेको सन्दर्भ केलाउँदै मुख्यमन्त्री आचार्यले द्वन्द्व प्रभावितहरुको न्यायको लागि प्रदेश सरकारले भूमिका बढाउने बताए । लुम्बिनी प्रदेश द्वन्द्वको चपेटामा पर्यो । अहिले पनि पीडितहरुले भोगेका समस्या सम्बोधन गर्ने गरी कामहरु अघि बढेका छन । पीडितहरुको समस्या सम्बोधन गर्ने जिम्मेवारी राज्यको हो । त्यो भूमिका निर्वाह गर्न प्रदेश सरकार तयार छ’उनले भने,‘मानव अधिकार रक्षाको निम्ति कुनै कसर बाँकी राख्ने छैन् । प्रदेश सरकारले खेल्नुपर्ने भूमिका निभाउँछौं ।’

    मानव अधिकार रक्षाको निम्ति इन्सेकले हरेक क्षेत्रबाट प्रभावकारी भूमिका खेलेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले अझैं मानव अधिकारको क्षेत्रमा थुप्रै काम गर्न आवश्यक रहेको बताए। ‘इन्सेकले द्वन्द्वको बेलामा खेलेको भूमिका कसैले भूल्न सक्दैन’उनले भने,‘अहिले पनि राज्यलाई मानव अधिकारको क्षेत्रबाट खबरदारी गरिरहनुभएको छ । राज्यले मानव अधिकार क्षेत्रबाट उठाएका कुराहरु सुन्छ, सुन्नुपर्छ ।’ 

    इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशका मन्त्री, पूर्वमन्त्री, प्रदेश सभा सदस्य, मानव अधिकारकर्मी, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतको सहभागीता थियो । कार्यक्रमको सहजीकरण इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले गरेका थिए ।