
बुधवार , मंसिर २६, २०८१
भैरहवा, २६ मंसिर । ११ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र युनिक होम्स इङ्गलिस बोर्डिङ हाई स्कूल विजयी भएका छन् ।
बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएका दुई खेलमा जेसिसले होराइजन जीबीएसलाई १ विकेट र युनिक होम्सले कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूललाई ५ विकेटले पराजित गर्दै जीत हात पारेका हुन् ।
टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय १६ रन बनायो । उसका लागि चन्दनकुमार राजपुतले ४५ र विप्लब केसीले २५ रन बनाए । बलिङमा जेसिसका गौतम यादवले २ तथा अमित यादव, शिशिर घिमिरे र अफजल हुसेनले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको जेसिसले १८ ओभर ५ बलमा ९ विकेट गुमाएर १ सय १७ रन बनाउँदै जित निकाल्यो । उसको जीतमा अमोग बश्यालले २४ र अफजल हुसेनले अविजित २१ रनको योगदान दिए । बलिङमा होराइजन जीबीएसका कुशल पौडेलले ३ तथा ग्रवित पन्थ र विप्लब केसीले समान २–२ विकेट लिए । खेलमा अफजल हुसेन प्लेयर अफ द म्याच भई ५ सय रुपैयाँ प्राप्त गरे ।
अर्को खेलमा टस जितेर ब्याटिङ गरेको कुँवरवर्तीले ४ विकेटको नोक्सानीमा १ सय १० रन बनायो । उसका लागि अपजस सेनले ४३, अन्जित क्षेत्रीले अविजित २५ र आरभ गिरीले १७ रन जोडे । बलिङमा युनिक होम्सका रुद्र यादव, अरुण सिंह र साहजद पठानले १–१ विकेट लिए ।
१ सय ११ रनको लक्ष्यसहित ब्याटिङ गरेको युनिक होम्सले १२ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्दै सहजै जीत हात पार्यो । उसका लागि साहजद पठानले अविजित २७, अरुण सिंहले नटआउट २२ र आदित्य रौनियारले २० रनको योगदान गरे । बलिङमा कुँवरवर्तीका आरभ गिरीले २ तथा दिप्सन पौडेलले १ विकेट लिए । खेलमा अरुण सिंह प्लेयर अफ द म्याच भई ५ सय रुपैयाँ हात पारे ।
रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले रु. ५० हजार, उपविजेताले रु. २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही रु. ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले रु. ५ सय तथा बेष्ट अनुशासित टीमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ वटा टीम सहभागी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij