
बुधवार , मंसिर २६, २०८१
भैरहवा, २६ मंसिर । सामूहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा बुधबार (आज) देखि ‘सामूहिक खेलकुद महोत्सव–२०८१’ सुरु भएको छ । भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा सञ्चालित उक्त खेल महोत्सवमा भैरहवा र आसपास क्षेत्रका गरी करिब १ हजार ३ सय विद्यार्थी सहभागी छन् । उनीहरुले खेलको विभिन्न बिधामा प्रतिष्पर्धा गर्न सुरु गरेका छन् । यो खेलकुद महोत्सव २३ औं श्रृंखला हो ।
सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष बसन्त पाण्डेले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासका लागि र उत्कृष्ट विद्यार्थीलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अवसर उपलब्ध गराउनका लागि खेलकुद महोत्सवको आयोजना गरिएको बताए ।
आयोजकका अनुसार खेलकुद महोत्सवमा सिद्धार्थनगर र तिलोत्तमा नगरपालिका, ओमसतिया, मायादेवी र रोहिणी गाउँपालिकामा सञ्चालित २० विद्यालयका करिब १ हजार ३ सय जना विद्यार्थीहरु सहभागी छन् । विद्यार्थी र अभिभावक र अन्य समेत गरी करिब १४ हजार दर्शकले खेलको अवलोकन गर्ने अनुमान छ ।
खेलमा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई कक्षागत रुपमा तीन समूहमा विभाजन गरिएको छ । जसमध्ये कक्षा १ देखि ३ सम्मलाई सव–जुनियर, कक्षा ४ देखि ६ सम्मलाई जुनियर र ७ देखि १० सम्मलाई सिनियर तह छन् ।
उचाइको आधारमा सव–जुनियर, तहमा ४ दशमलव ६ फिटसम्म, जुनियर तहसम्म ५ दशमलव ३ फिट र सिनियर तहमा १८ वर्ष उमेर नपुगेको विद्यार्थी खेलमा सहभागी हुन पाउनेछन् । खेलकुद महोत्सवमा भलिबल र विभिन्न एथलेटिक्स खेल समावेश छन् । जसमा ५० मिटरदेखि ८ सय मिटरसम्मको दौड प्रतियोगिता छन् ।
सर्टफुट, लग्जम्प, रिले दौड प्रतियोगिता पनि समावेश छन् । खेलका सबै विधामा तीनवटै तहका छात्र र छात्राको टीमबाट प्रतिष्पर्धा गर्नेछन् । खेल महोत्सवको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री सारुले निजी विद्यालयले गुणस्तरीय शिक्षा सँगसँगै राष्ट्रको खेलकुद क्षेत्रमा पनि ठुलो योगदान पुर्याएको बताए । उनले आगामी दिनमा संस्थागत विद्यालयको मूल्यांकनमा प्रदेश सरकार लागिरहने बताए ।
शिक्षा समन्वय तथा शिक्षा इकाई रूपन्देहीका प्रमुख माधव बन्जाडेले अहिलेको समयमा विद्यार्थीहरूलाई किताबी ज्ञान सँगसँगै व्यवहारिक ज्ञानमा जोड दिन सके मात्र विद्यार्थीहरूको सर्वाङ्गीण विकास हुने बताए ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले राज्यले नै विद्यालयस्तरीय खेललाई खासै चासो नदिदा उर्जावान खेलाडीहरूको मनोबल घट्दै गएको बताए ।
सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष बसन्त पाण्डेले २०५९ सालमा स्थापना भएको सामूहिक विद्यालय परिवार रूपन्देहीले २३ वर्षको दौरानमा थुप्रै राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको बताए । खेल महोत्सव ४ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij