
शुक्रवार , फाल्गुण २८, २०७७
भैरहवा, २८ फागुन ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा संघीय प्रहरी इकाई कार्यालय भैरहवाको खैलमैदानमा उपप्रमुख दोस्रो महिला कप–२०७७ शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिता सुरु हुनुअघि पञ्चेबाजासहित र्याली निकालिएको छ । लुम्बिनी गेटदेखि सुरु भएको र्याली नारायणपथ, मिलनचोक, बैंकरोड, देवकोटा चोक हुँदै संघीय प्रहरी इकाई कार्यालय शान्तिनगरमा पुगेर कार्यक्रममा परिणत भएको प्रतियोगिता संयोजक विष्णु प्रसाद पन्थीले बताए ।
सिद्धार्थनगरका विद्यालयमा अध्ययरत छात्राहरुको खेलकुदमा पहुँच सुनिश्चितता गर्न प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशिल लम्सालले बताए । उनले छात्राहरुको मात्र सहभागिता रहने यो प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको बताए ।
तीनदिनसम्म चल्ने प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरु हुने उनले बताए । जसअन्तर्गत दौड, रिले दौड, लंग जम्प, सटपुट, भलिबल र वक्तृत्कला प्रतियोगिता रहेको उनले बताए । खेलहरुलाई २ समूहमा वर्गीकरण गरिएको र समुह क अन्तर्गत कक्षा १ देखि ४ सम्म छात्राहरु तथा समूह ख अन्तर्गत कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरुको सहभागिता रहने लम्सालले जानकारी दिए । भलिबलमा र वक्तृत्वकलामा कक्षा १० सम्मका छात्राहरुको सहभागिता रहने नगरपालिकाले जनाएको छ । फागुन २८, २९ र चैत १ गते तीन दिनसम्म प्रतियोगिता सञ्चालन गरिने सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले बताइन् ।
प्रतियोगिताको व्यवस्थापन सामूहिक विद्यालय परिवार, रुपन्देहीले गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाले बताए । प्रतियोगितामा भैरहवाका २८ वटा विद्यालयका छात्राहरुको सहभागिता रहेको सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष गम्भिर गुरुङले बताए । गत वर्ष माघमा सिद्धार्थनगर उपप्रमुख प्रथम महिला कप प्रतियोगिता आयोजना गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij