
बिहिवार , मंसिर २७, २०८१
बुटवल, २७ मंसिर । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश तथा रुपन्देहीमा क्रियाशिल मानवअधिकार तथा नागरिक समाजका २ दर्जन बढी संघ–सस्थाहरुको सहकार्यमा बुुटवलको राजमार्ग चौराहादेखि प्रभातफेरी शान्तिर् याली सम्पन्न भएको छ । र्याली मिलनचोक, नयाँ बसपार्क, भुड्कीचोक श्रवणपथ हुँदै चादबारी सुख्खानगरस्थित होटल मेरीगोल्डको सभाहलमा पुगेर नागरिक सम्वादमा रुपान्तरण भएको थियो ।कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजको कार्यपत्र र अवधारणा पत्र प्रस्तुत भएको थियो ।
शान्ति समाजको तर्फदेखि केन्द्रिय सदस्य डिपी खनालले बढ्दो युवा पलायन र सैन्य प्रयोजनको खतरा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्ला सदस्य कल्पना ढकालले मानव अधिकारको अवधारणा प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले मानव अधिकारको प्रवर्द्धन, संरक्षणको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले निष्पक्षता, सत्यता, निर्भिकता साथ मुलुकभित्रका सरोकारवाला सबैले आफ्नो आचारण, व्यवहार र मानवअधिकारको सम्मान हुनुपर्नेमा बताए ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले मानव अधिकार सुनिश्चितताको लागि स्थानीय सरकारको रूपमा आफूहरुले काम गरिरहेका बताए । उनले अझै उन्नत, परिस्कृत र सहज, सरल मानवअधिकारका सबै सेवाको लागि नयाँ योजनाका साथ अगाडि बढ्न सकिने बताए ।
मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सल्लाहकार तथा निवर्तमान सभापति गोविन्द खनालले मानव अधिकारका विश्वव्यापी घोषणापत्र, नेपालको संविधानले सुनिश्चित अधिकारहरु अक्षरस कार्यान्वयन गरेर हरेक विभेद अन्त्य गरिनुपर्ने बताए ।
उपभोक्ता संरक्षण हित लुम्बिनी प्रदेश अध्यक्ष तेज प्रसाद पाठकले दैनिक उपभोग्य सामानको गुणस्तरमा कुनै किसिमको खेलवाड नगर्न आग्रह गरे । उनले उपभोक्ताले उपभोग गर्ने हरेक वस्तुहरु स्वस्थ र सर्वसुलभ हुनुपर्नेमा जोड दिए ।
चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले व्यवसायीका मर्काहरु बुझिदिनुपर्ने र ढुक्कसँग व्यापार गर्ने अवस्था हुनुपर्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवालीले मानव अधिकार सुरक्षित र सुनिश्चितताको लागि आफूहरुले काम गरेको बताए । उनले नागरिक समाज तथा सरोकारवाला सबै निकायसँग मिलेर काम गर्ने बताए ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीले विभिन्न समयमा व्यवस्था परिवर्तन भए पनि विभेद अन्त्य नभएको बताए । उनले सबैभन्दा पहिला सबैले आफैबाट आफ्नो आचारणबाट अरुलाई सम्मान, सहयोग, प्रेम गर्नुपर्ने र मानवताको उच्चतम व्यवहार गरिनुपर्ने बताए ,
कार्यक्रम मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि प्रसाद ज्ञवालीको स्वागत तथा इन्सेक प्रतिनिधि रिमा बि.सी.को सञ्चालनमा सप्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij