
शनिवार , मंसिर २९, २०८१
भैरहवा, २९ मंसिर । २३ औं सामूहिक खेलकुद महोत्सव–२०८१ अन्तर्गत शुक्रबार तेस्रो दिनका खेलहरू सम्पन्न भएका छन् । सामूहिक विद्यालय परिवार रूपन्देहीले आयोजनामा चारदिने महोत्सव अन्तर्गत तेस्रो दिनका खेलहरू सम्पन्न भएको हो । मंसिर २६ गतेदेखि सुरु भएको खेल महोत्सवको तेस्रो दिन सब–जुनियरतर्फ रिलेहिट्समा छात्रतर्फ मनकामना प्रथम, फ्लोरल द्वितीय र एभरग्रीन तृतीय भएको छ । छात्रातर्फ लुम्बिनी सिर्जना प्रथम लड गौतम द्वितीय र स्पांगल तृतीय भएका छन् ।
त्यसै गरी जुनियरतर्फको लङजम्पको फाइनल खेलमा छात्रतर्फ मनकामनाका निरज कुर्मी प्रथम, एभरेष्टका जावेद अली द्वितीय र सतियाका राज पासी तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ मनकामनाकी निर्जना यादव प्रथम, श्री लुम्बिनी सृजना ईङलिस बोर्डिङ स्कूलकी कल्पना गनेरिया पाल द्वितीय र न्यू ईराकी सपना केवट तृतीय भएका छन् ।
त्यस्तै जुनियरतर्फ लङजम्पको फाइनल खेलमा छात्रातर्फ मनकामनाकी तृप्ती चौरासिया प्रथम एभरग्रीनकी सविता साहनी द्वितीय र स्पाइकतर्फ शिवानी चौधरी तृतीय भएका छन् ।
त्यस्तै छात्रतर्फ स्पांगलका संस्कारपाल प्रथम फ्लोरलका सहेबाज शेख द्वितीय र मनकामनाका एमडी समिम नाउ तृतीय भएका छन् ।
त्यस्तै जुनियरतर्फको रिलेहिट्समा छात्रतर्फ फ्लोरल प्रथम, नमूना द्वितीय र सतीया तृतीय तथा छात्रातर्फ एभरग्रीन प्रथम न्यू इरा द्वितीय र नालन्दा तृतीय भएका छन् । सिनियरतर्फको फाइनल खेलको सटपुटमा छात्रतर्फ मनकामनाका निश्चल रेश्मी मगर प्रथम, एबिएमका पुष्कर बनिया द्वितीय र फ्युचर लाइटका गिरिजा प्रसाद कलवार तृतीय भएका छन् ।
त्यस्तै छात्रातर्फ एबिएमका अनुष्का सानी प्रथम नालन्दाको निशा चुनी मगर द्वितीय र मनकामनाको बिनिता चौधरी तृतीय भएका छन् । त्यस्तै भलिबल र बाँकी रहेका अन्य खेलको फाइनल शनिबार हुनेछन् ।
एथ्लेटिक्स तर्फका सम्पूर्ण खेल पक्लिहवा कृषि क्याम्पसमा भएको थियो भने भलिबल खेल पक्लिहवा माविमा थियो । ‘स्वास्थ्यका लागि खेलकुद जीवनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ विद्यार्थीहरूलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य राख्न तथा उनीहरूमा भएको प्रतिभालाई प्रस्फुटन गराउनु खेल महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएका छन् ।
सामूहिक विद्यालय परिवार रूपन्देहीले विद्यार्थीमा भएको अन्तरनीहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले २०५९ सालदेखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको परिवारका अध्यक्ष वसन्त पाण्डेले बताए । उनले शिक्षाका साथै खेलकुद र सामाजिक क्रियाकलापमा पनि उत्तरदायित्व बहन गर्दै सामूहिक विद्यालय परिवार रूपन्देहीले वर्षेनी विविध कार्यक्रमहरू आयोजना गर्दै आएको बताए । कक्षा १ देखि ३ सम्मको सब–जुनियर, कक्षा ४ देखि ६ सम्मको जुनियर र कक्षा ७ देखि १० सम्मको सिनियर गरी तीन तहमा हुने प्रतियोगितालाई छात्र र छात्रा गरी दुई विधामा प्रतियोगिता भइरहेका छन् ।
मंसिर २६ देखि २९ मंसिरसम्म हुने चारदिने खेल महोत्सवमा ५० मिटरदेखि ८ सय मिटरसम्मका दौड, भलिबल, सय गुणे चार रिले दौड, लङजम्प र सटपुट खेलहरू हुने आयोजकले जानकारी दिएका छन् ।
सामूहिक विद्यालय परिवार रुपन्देहीले आयोजना गरेको खेलमा करिब १ हजार ५ सय जना विद्यार्थीहरू सहभागी छन् । परिवारमा सिद्धार्थनगर र तिलोत्तमा नगरपालिका, मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका, र ओमसतिया गाउँपालिकामा रहेका २० विद्यालयहरु सदस्य छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij