
शनिवार , मंसिर २९, २०८१
अर्घाखाँची, २९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शीता कायम गर्न पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार अन्त्यका लागि सुशासन र जवाफदेहीता कायम गर्न पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।
व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले पत्रकारीता क्षेत्रमा देखा परेका विकृति र विसंगति अन्त्यका लागि पनि ध्यान दिन आग्रह गरे । ‘स्वच्छ, स्वस्थ र व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता हो । यही मर्मलाई जोड दिएर समाजमा रहेका परिघटनाहरुलाई बाहिर ल्याउन यहाँहरुको महत्वपूर्ण योगदान छ’मुख्यमन्त्री आचार्यले भने,‘सरकारका कमीकमजोरी छन् भने पनि त्यसलाई बाहिर ल्याएर सरकारलाई समेत सजग र सतर्क बनाउन यहाँहरुले भूमिका खेल्नुहुनेछ ।’
भ्रष्टाचार अन्त्यका लागि पारदर्शीता गर्न र गराउन पत्रकारिता जगतको महत्वपूर्ण भूमिका रहने र त्यो भूमिकालाई अझ सशक्त रुपमा निर्वाह गर्न आग्रह गरे । पत्रकार महासंघ अर्घाखाँचीमा गणेश खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
सो अवसरमा मुख्यमन्त्री आचार्यले निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य, राष्ट्रिय परिषद सदस्य, प्रदेश परिषद सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij