
शनिवार , मंसिर २९, २०८१
भैरहवा, २९ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार के.सी.ले मदरसाका विद्यार्थीहरुलाई स्वीटर र जुत्ता वितरण गरेका छन् । वडा सदस्य के.सी.ले सिद्धार्थनगर–६ गल्लामण्डीस्थित मदरसा अरबिया अशरफिया फैजुल ईस्लामका २८ जना विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरेका हुन् ।
चिसो मौसमलाई मध्यनजर गर्दै मदरसामा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर, जुत्ता र मोजा वितरण गरिएको उनको भनाइ छ । ‘शिक्षाको विकास बिना समग्र विकास हुन सक्दैन । यसतर्फ हामीले ध्यान दिनैपर्छ । त्यस्तै विद्यालयसँगै मदरसा शिक्षाको गुणस्तर र यहाँ अध्ययनरत विद्यार्थीहरुलाई अत्यावश्यक सामग्री पनि उपलब्ध गराउनुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै मदरसामा आएको छु, ’उनले भने ।
नेपाली कांग्रेस सिद्धार्थनगर समितिका सचिव समेत रहेका के.सी.ले समयसमयमा सामाजिक कार्यहरुलाई निरन्तरता दिदै आएका छन् ।
मदरसा अरबिया अशरफिया फैजुल ईस्लामका अध्यक्ष मोहम्मद अकिल मुसलमानका अध्यक्षतामा भएको कार्यक्रममा मदरसाका प्रधानाध्यापक मौलाना फैजुल्लाह मुसलमान, अहले सुन्नत ब.जमाअत ईस्लामिया कमिटीका अध्यक्ष मुहम्मद फिरोज, समाजसेवी साहब हुसेन, रामप्रित चौधरी, शेर अली, सिद्धिक मुसलमान, मनिष चौधरी, नबाब मुसलमान, रसिद अहमद चौधरी, राहुल चौधरी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्ने अतिथिहरुले मदरसा शिक्षाको विकासमा जोड दिएका थिए । मदरसाकी शिक्षिका साहिबा खातुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा मदरसाले वडा सदस्य के.सी.लाई प्रशंसा-पत्र प्रदान गरी सम्मान गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij