
आइतवार , मंसिर ३०, २०८१
भैरहवा, ३० मंसिर । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ वडा कार्यालय, रुपन्देहीको आयोजनामा भएको वडा कप क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि गोलिगढ युवा क्लबले जितेको छ । आइतबार गोनहियामा रहेको रेडक्रसको मैदानमा भएको फाइनल खेलमा गोलिगढले रोयल मिश्रौलियालाई हराउँदै प्रतियोगिताको उपाधि जितेको हो । सेमिफाइनल खेलमा गोलिगढले उदयपुर र मिश्रौलियाले गोलिगढ बी टीमलाई हराउँदै फाइनलमा पुगेका थिए ।
पहिला ब्याटिङ गरेको गोलिगढले निर्धारित १२ ओभरमा ५ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । उसका लागि सुनिल सहानीले ७ छक्का र ४ चौकाको मद्दतमा अविजित ६९ रन बनाए । यो रन नै गोलिगढको जीतमा महत्वपूर्ण रह्यो । त्यस्तै गोलिगढका शिव धवल र जर्सी नम्बर १५ का सुनिल सहानीले समान १४/१४ र मुमताज खानले १३ रनको योगदान गरे ।
बलिङतर्फ मिश्रौलियाका बलरहरुले केही खास गनै सकेनन् । मिश्रोलियाका लागि लवकुश कुर्मीले २ विकेट र अरुण कुर्मी, अमित कुर्मी र विजय कुर्मीले समान १/१ विकेट लिए ।
१३५ रनको लक्ष्य पाएको मिश्रौलियाको टोली सुरुदेखि नै दबाबमा खेलेको थियो । गोलिगढको घातक बलिङको अगाडी मिश्रोलियाका कुनै पनि खेलाडी राम्ररी खेल्न सकेनन् । मिश्रौलियाका लागि विजय कुर्मीले १३ र शिवशंकर कुर्मीले १२ रनबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नतिजा ११ ओभरमै मिश्रौलियाले आफ्नो सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो र पराजित भयो ।
मिश्रौलियालाई सस्तोमै समेटन सुनिल सहानीले ५ विकेट लिए । त्यस्तै हसन खान, आशिष, आरिफ र रोशनले समान १/१ विकेट लिए । फाइनल खेलको म्यान अफ द म्याचसहित उत्कृष्ट बलर, ब्याटर र म्यान अफ द सिरिजको उपाधि गोलिगढका सुनिल सहानीले प्राप्त गरे । प्रतियोगितामा प्रथम भएको गोलिगढले करसहित २५ हजार दोस्रो भएको मिश्रौलियाको टोलीले करसहित १५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।
प्रतियोगिताको समापन गर्दै वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले प्रतियोगिताले वडास्तरमै क्रिकेट खेलाडीहरु उत्पादनमा सहयोग गर्ने बताए । उनले अर्को वर्ष पुनः यो भन्दा राम्रो र भव्य तरिकाले प्रतियोगिताको आयोजना गर्ने बताए ।
समापन समारोहमा वडाअध्यक्षसहित वडा सदस्यहरु बसन्त भट्टराई, बसुन्धरा शर्मा, युवराज बराल, सविता हरिजन, वडा सचिव अब्दुल रसिद पठान, गोलिगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij