
आइतवार , मंसिर ३०, २०८१
भैरहवा, ३० मंसिर । रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय र न्यू होराइजन माध्यमिक विद्यालय ११ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ मा सेमिफाइनल प्रवेश गरेका छन् । आइतबारको खेलमा लीलारामले न्यु इरा इङ्गलिस बोर्डिङ हाई स्कूललाई १ विकेट र न्यू होराइजनले न्यू मुन एकेडेमीलाई १ सय ३७ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेका हुन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यू इराले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ९ रन बनायो । उसका लागि मणि विकले २९, नैतिक बानियाले २४, सागरसिंह चौधरीले १३ र मोहम्मद साइब खानले १२ रन बनाए ।
बलिङमा लीलारामका सुगम पोखरेलले ४ ओभरमा १ मेर्डनसहित १३ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, मोहम्मद अयुबले २ तथा लक्की यादव र शुभम यादवले समान १–१ विकेट लिए।
जवाफी ब्याटिङ गरेको लीलारामले १८ ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन बनाउँदै जीत हात पार्यो । उसको जीतमा फैजन खानले अविजित २९, अबुहम्जा खानले २२ र विशाल बरईले १२ रनको योगदान दिए ।
बलिङमा न्यु इराका सुरज गुप्ताले ४, नैतिक बानियाँले २ तथा सागरसिंह चौधरी र पुरुषोत्तम कुर्मीले १–१ विकेट लिए । खेलमा सागर पोखरेल प्लेयर अफ द म्याच भइ ५ सय रुपैयाँ प्राप्त गरे ।
अर्को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले ५ विकेटको नोक्सानीमा १ सय ७४ रनको विशाल योगफल बनायो । उसका लागि राहुल नाउले ४३, प्रिन्स पालले ३७ र अनुप न्यौपानेले अविजित ३५ रनको योगदान दिए । बलिङमा न्यु मुनका विश्वास थापाले २ तथा आशिष यादव र शिव गुप्ताले १–१ विकेट लिए ।
प्रतिउत्तरमा न्यु मुन १३ ओभर ५ बलमा अलआउट हुँदै ३७ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न न्यु होराइजनका प्रिन्स पालले ४, सुप्रिम कंडेलले ३ तथा अनिश भट्टराई र निरज घिमिरेले १–१ विकेट हात पारे । न्यू मुनका आशिष यादवले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीम सस्तैमा समेटियो र हार व्यहोर्यो । खेलमा प्रिन्स पाल प्यलेयर अफ द म्याच भइ ५ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टीमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । प्रतियोगिता पुस २ गतेसम्म सञ्चालन हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij