२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटको उपाधि न्यू होराइजनलाई

मंगलवार , पौष २, २०८१

  • 787
    Shares
  • 787
    Shares
  • भैरहवा, २ पुस । ११ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ को उपाधि न्यू होराइजन माध्यमिक विद्यालयले जितेको छ । मंगलबार भएको फाइनल खेलमा देवदह बुद्ध माध्यमिक विद्यालयलाई ५ विकेटले पराजित गर्दै होराइजनले उपाधि हात पारेको हो । 

    जीतसँगै होराइजनले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको देवदह बुद्धले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनल खेलमा जीतका लागि पाएको ७१ रनको लक्ष्य न्यू होराइजनले १९ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा ७६ रन बनाउँदै पुरा गर्दै उपाधि रक्षा गर्यो । उसको जीतमा समीरजंग सिंह ठकुरीले अविजित २० र अनिश भट्टराईले १९ रनको योगदान गरे । बलिङमा देवदह बुद्धका कृष केसीले २ तथा रोहन कुँवर र आयुष विकले १–१ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको देवदह बुद्धले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७० रनको सामान्य योगफल बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा न्यू होराइजनका निरज घिमिरे र राहुल नाउले ३–३ तथा अनिश भट्टराई, सुप्रिम कंडेल र प्रिन्स पालले १–१ विकेट लिए । देवदह बुद्धका दिक्सन थापाले १६, आयुश पाण्डेले १५ र अध्ययन न्यौपानेले ११ रन बनाए पनि अन्य ब्याटर नचल्दा टीमले हार व्यहोर्यो । होराइजनका निरज घिमिरे म्यान अफ द फाइनल भइ पाँच सय रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगितामा न्यू होराइजनका प्रिन्स पाल म्यान अफ द सिरिज भइ १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, होराइजनकै राहुल नाउ बेष्ट ब्याटर र सुप्रिम कंडेल बेष्ट बलर भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाए । प्रतियोगितामा कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूल बेष्ट अनुशासित टीम घोषित भयो ।

    रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताका विजेता टीमलाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारी क्षेत्री, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रुपन्देही क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्ल, संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, प्याब्सनका केन्द्रिय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, मुख्य प्रयोजक पर्वत ज्वेलर्सका विमल सेन्चुरी, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदाम, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीलगायतले विजेता र उपविजेता टीमलाई पुरस्कार वितरण गरेका थिए ।