
मंगलवार , पौष २, २०८१
बुटवल, २ पुस । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप सुरु भएको छ । मंगलबार कालिका नगर सेक्टर १ मा विशेष आयोजना गरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।
शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लिला गिरीले कालिका मानवज्ञान माविले खेलकुलका धेरै विधामा महत्वपूर्ण प्रगति गरेको बताए । उनले कालिकाले यो क्षेत्रको मात्रै नभएर मुलुककै उत्कृष्ट विद्यालयको रुपमा आफूलाई प्रमाणित गरेको बताए । उनले भने, ‘हाम्रो मुलकको सबै सामूदायिक विद्यालयमा यसै गरी अनुशासित र उत्कृष्ट नतिजा दिन सकिन्छ भन्ने उदाहरण कालिका मानवज्ञान माविले प्रस्तुत गरेको छ । ’
उनले स्थानीय, प्रदेश र संघीय सरकारले कालिकाको जस्तै शैक्षिक वातावरण सबै सामूदायिक विद्यालयमा स्थापना गर्न सक्नुपर्ने बताउँदै यसमा कमजोरी रहेको र आगामी दिनमा सुधार गर्न जरुरी रहेको समेत बताए ।
शिक्षक, विद्यालय व्यवस्थापन समिति सबैको मिहिनेतबाट शैक्षिक क्षेत्र सुधार हुने भएकाले सबैजना लाग्नुपर्ने उनको भनाइ छ । निजीस्तरका विद्यालयहरुलाई समेत जित्न सक्ने गरी शैक्षिक वातावरण तयार गर्न सबैजना लागेमा सफल हुने उनको भनाइ छ । उनले भने, ‘हामीले आ–आफ्नो स्थानबाट सबैले योगदान दिन जरुरी रहेको छ, सबैले आ–आफ्नो भूमिका निर्वाह गर्ने हो भने शैक्षिक सुधार गर्न सकिन्छ, यसमा हातेमालो गर्न जरुरी रहेको छ ।’
त्यस्तै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव किरणराज गौतमले कालिका मानवज्ञान माध्यमिक विद्यालय एउटा शैक्षिक धरोहरको रुपमा अगाडी बढेको बताए । उनले खेलकुदको क्षेत्रमा विद्यालयले गरेको लगानी सराहनीय भएको बताए । उनले खेलकुदको विकासको लागि प्रदेश सरकारले योजनाबद्ध विकास गर्ने गरी अगाडी बढेको बताए । सामूदायिक विद्यालयले खेलकुदका गतिविधिहरु अगाडि बढाउनको लागि विद्यालयदेखि नै योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । खेलकुद एकताको प्रतिक भएको भन्दै उनले खेलकुदले देशलाई सफल बनाउने बताए ।
मदन भण्डारी स्पोट्स एकेडेमीका केन्द्रीय अध्यक्ष धुव्र आचार्यले अब खेलकुद विदालाई अतिरिक्त भन्दा पनि अनिवार्य विषयको रुपमा सुरुवात गर्नुपर्ने बताए । उनले मदन भण्डारी स्पोट्स एकेडमीले खेलकुदलाई जोड्दै आएको भन्दै खेलकुदलाई राजनीतिले व्यवस्थापन गर्ने गरी खेलकुदका गतिविधिहरुलाई अगाडी बढाउनुपर्ने बताए । अबको दिन खेलदकुले बाँच्नको लागि मात्रै नभएर कमाउन, रमाउनको लागि भन्दा पनि समृद्धिको लागि खेलदकुल अबको नारा हुुनुपर्ने बताए । उनले भने,‘खेलकुद अबको अतिरिक्त आवश्यकता होइन, यो अनिवार्य आवश्यकता हो, खेल र खेलाडी यो देशमा अब आधारभूत स्रोत हुन । ’
बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कालिका मानवज्ञान हरेक क्षेत्रमा उत्कृष्ट विद्यालयको रुपमा अब्बल बन्न सफल भएको बताए । उनले कालिका मानवज्ञान मावि आफैमा महत्वपूर्ण मन्दिर भएको बताए । उनले शिक्षा मात्रै नभएर खेलकुदलाई पनि अनिवार्य गरेर लैजान सकेमा हरेक क्षेत्रमा अब्बल हुन सक्ने बताए ।
कार्यक्रममा नेपाल खेलकुद विद्यालय महासंघका अध्यक्ष लेखनाथ पौडेल शिक्षासँगसँगै अतिरिक्त क्रियाकलापमा कालिका मानवज्ञान माविले आफूलाई अब्बल सावित गर्दै आएको बताए। उनले विद्यालयले वार्षिक उत्सवमा मात्रै नभएर अन्य समयमा समेत विद्यालयले राम्रो कार्यको सुरुवात गरेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले कालिका मानवज्ञान माविको हालसम्मको अवस्थाको लागि सम्पूर्ण पूर्व शिक्षक, पूर्व पदाधिकारीहरु लगायत सबैको योगदान रहेको बताए । उनले सबैको साथ र सहयोग सदैव सकारात्मक रहेको बताए । विद्यालयको खेलकुद, शैक्षिक गतिविधि सबैमा सहयोगी निकाय तालुक अड्डाबाट सहयोग प्राप्त हुँदै आएको बताए । उनले विद्यालयले खेलकुद गतिविधिलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय रुपमा समेत नाम कमाउनको लागि सबैको सहयोग रहेको बताए । उनले शिक्षक, अभिभावक, प्रशिक्षक सबैको साझा पहलबाट अहिलेको सफलता प्राप्त भएको बताए । उनले हाल १३ जना राष्ट्रिय खेलाडीमा विद्यार्थीहरु कालिका माविबाट नै खेल्दै आएको बताए । उनले क्रिकेट, भलिबल, फुटबल लगायतका खेलकुदमा विद्यार्थीहरुको योगदान राष्ट्रमा नै उच्च रहेको बताए । विद्यालयले खेलकुदको आधारस्तम्भ खडा गर्न सफल भएको भन्दै उनले कालिका कपको निरन्तरता एउटा उदाहरण भएको समेत बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले खेलकुदले एकताको प्रर्दशन गर्ने भन्दै विद्यालयले लामो समयदेखि शैक्षिक वातावरणसहित खेलकुदका विविध गतिविधिहरुलाई अगाडी बढाउँदै आएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij