२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भीम अस्पतालमा सार्वजनिक सुनुवाई, सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड

मंगलवार , पौष २, २०८१

भैरहवा, २ पुस । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालले आर्थिक वर्ष २०८०/८१ को सेवा सम्बन्धी विषयमा सोमबार सामाजिक परीक्षण कार्यक्रम (सार्वजनिक सुनुवाई) गरेको छ । 
भैरहवा सञ्चार गृह प्रा.लि.को समन्वयमा भएको कार्यक्रममा सञ्चार गृहका प्रबन्ध निर्देशक दिपेश पछार्ईले भीम अस्पतालले दिएको सेवाको प्रभावकारिता, नागरिक अभिमत तथा सुझावसहितको कार्यपत्र प्रस्तुत गरे । अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा करिब १ सय जना बढी सेवाग्राहीहरुको सहभागीता रहेको थियो । 

कार्यक्रमको प्रमुख अतिथि तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इस्तियाक अहमद खाँले यस किसिमको कार्यक्रमले सबैमा काम गर्न थप उर्जा प्रदान गर्ने भएकोले प्रत्येक महिना वा कम्तीमा पनि ६–६ महिनामा आयोजना गर्नुपर्ने बताए ।  उनले अस्पताललाई सुझाव दिदै यहाँ कार्यरत कर्मचारी, डाक्टर तथा नर्सहरुले बिरामीहरुसँग राम्रो व्यवहार गरे विरामीहको आधा समस्या स्वतः समाधान भइहाल्ने र सेवा लिन आएका बिरामी कुरुवाहरु पनि खुसी हुँदै फर्कने बताए ।

अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले भमि अस्पताललाई अझ प्रभावकारी बनाउन धेरै भावी योजनाहरु बनाइएको बताए । ती योजनाहरु छिट्टै सञ्चालनमा ल्याउने अध्यक्ष डा. शर्माले बताए ।

कार्यक्रममा अस्पतालबाट सेवा लिएका विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले भीम अस्पतालको सरसफाईदेखि अन्य स्वास्थ्य सेवा तथा व्यवस्थापन पक्ष विगतको तुलनामा निकै सुधार भएको बताएका थिए । 

कार्यक्रममा चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, श्री सक्षम सहारा बहुउद्देश्यीय महिला समूहका अध्यक्ष शान्ता कंडेल, साईकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगर, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ता, उमेश आचार्य लगायतले अस्पताललाई अझ व्यवस्थित बनाउनुपर्ने र स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सुझाव दिए ।

भीम अस्पतालका प्रमुख (मेसु) डा. शकुन्तला गुप्ताले अस्पताको भावी योजनाहरु धेरै रहेको बताइन् । उनले नयाँ भवन हस्तान्तरण छिट्टै गर्ने, संघ र प्रदेश सरकारले दोस्रो भवनको बहुवर्षिय योजनालाई दिनुपर्ने, जुन पाएसँगै उक्त भवन बनाउने बताइन् । उनले भनिन्, ‘अब आउने दिनहरुमा फोहोर व्यवस्थापनमा पनि धेरै सुधार ल्याउनेछौं ।’ 

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर १३ का अध्यक्ष सोम बहादुर गुरुङ, भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष कुल प्रसाद न्यौपाने, हितराज पन्थी लगायतले भनाइ राखेका थिए । अस्पतालका व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।