२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्थापना दिवसमा नेपाल उत्पीडित जातीय मुक्ति समाज रुपन्देहीद्वारा रक्तदान

बुधवार , पौष ३, २०८१

भैरहवा, ३ पुस । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी रुपन्देहीले बुधबार भैरहवामा रक्तदान कार्यक्रम गरेको छ । समाजको ३७ औं स्थापना दिवसका अवसरमा भैरहवास्थित भीम अस्पतालमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक एवं जिल्ला कार्यबाहक अध्यक्ष विकास गहतराजले बताए । उनले स्थापना दिवसको अवसरमा समाजले रचनात्मक कार्य गर्ने प्रयास गरेको बताए । 

कार्यक्रमको उद्घाटन गर्दै मुक्ति समाजका केन्द्रीय सचिवालय सचिव तथा रुपन्देही जिल्ला इञ्चार्ज तेज प्रसाद विश्वकर्माले रुपन्देहीका १६ वटै स्थानीय तहमा कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्यले सिद्धार्थनगरमा रक्तदान कार्यक्रम गरिएको बताए । उनले आगामी दिनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने बताए । ‘देशमा भएका ठूला आन्दोलनहरुमा मुक्ति समाजले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ, ’उनले भने । उनले एक यूनिट रगतले पनि मानिसको ज्यान बचाउन सकिने भएकाले रक्तदान महान कार्य भएको बताए । आफूले धेरैपटक रक्तदान गरेको उनले स्मरण गरे । रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गर्नुपर्ने भन्दै उनले रक्तदाताहरुलाई धन्यवाद दिए ।

त्यस्तै समाजका केन्द्रीय सदस्य, जिल्ला सह–इञ्चार्ज तथा तिलोत्तमा नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले नेपालमा भएका सबैप्रकारका विभेदको अन्त्य गर्न र समतामूलक समाज निर्माण र न्याय तथा अधिकार स्थापना गर्न नेपाल उत्पीडित जातीय मुक्ति समाजको जन्म भएको बताए । उनले भने, ‘समाजमा भएका सबैप्रकारका विभेदहरुको अन्त्य गर्नका लागि राजनीतिक हिसाबले यो संगठनले अगुवाइ गरेको छ । मुक्ति समाज उत्कृृष्ट संगठनको रुपमा स्थापित भएको छ ।’

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सल्लाहकार डम्बर रामदामले रक्तदान कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिए ।

भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले प्रत्येक स्वस्थ व्यक्तिले ३–३ महिनामा रक्तदान गर्न सक्ने बताए । उनले आगामी दिनमा पनि नेपाल उत्पीडित जातीय मुक्ति समाजले रचनात्मक कार्यहरुलाई अघि बढाउँदै जाने विश्वास व्यक्त गरे ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी रुपन्देहीका सचिव हेम बहादुर विश्वकर्माको सञ्चालनमा भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जुद्ध वि.क., समाजका केन्द्रीय सल्लाहकार प्रेम कुमार सेन्चुरी, एमाले जिल्ला कमिटी सदस्य रेवन्त वि.क., जिल्ला कमिटी सदस्य सुमि बराल, सिद्धार्थनगर कमिटी अध्यक्ष चक्र बहादुर थापा, उपसचिव सरोज ठकुरी, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदाम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा २९ युनिट रगत संकलन भएको समाजका केन्द्रीय सल्लाहकार प्रेम कुमार सेन्चुरीले जानकारी दिए ।