२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीका विहार र होटल व्यवसायीबीचको विवाद समाधान

बुधवार , पौष ३, २०८१

लुम्बिनी, ३ पुस । विगत लामो समयदेखि लुम्बिनी होटल संघ, नेपाल र लुम्बिनी विहार क्षेत्रबीचको विवाद समाधान भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाको पहलमा ८ बँुदे सहमति गर्दै  कार्यविधि बनेसँगै उत्पन्न विवाद समाधान भएको हो । 

कोषको नेतृत्वमा लुम्बिनी होटल संघ, लुम्बिनी साँस्कृतिक नगरपालिका र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समेत सहभागीतामा होटल र विहारका विषयमा देखिएका समस्याहरु समाधान गर्ने गरी कार्यविधि तयार भएपछि उत्पन्न विवाद र असमझदारी अन्त्य भएको हो । 

बुधबार लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेको उपस्थितिमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) सहित होटल व्यवसायी, विहारका प्रतिनिधिहरुको बैठकले विवाद समाधान गर्दै कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बाहरुमा तीर्थयात्रीहरुलाई होटलमा जस्तै सुविधा दिएर राखेको जस्ता विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो । होटल व्यवसायी र गुम्बा विहारको विषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक सन्देश जान नदिन कोषकै नेतृत्वमा लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको हो ।

कार्यविधि कार्यन्वयनका सम्बन्धमा भएको छलफलमा प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले लुम्बिनीमा गुम्बा विहार र होटल व्यवसायीबीचको असमझदारीलाई कार्यविधि बनाएर हल गर्नु निकै सकारात्मक भएको बताए । उनले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल भएकाले यहाँ विश्वभरका पर्यटकरुलाई आर्कषित गर्ने गरी वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनीमा सरसफाईको समस्या जटिल भएकाले यसतर्फ ध्यान दिएर कार्य गर्न सुझाव दिए ।

दुई पक्षबीच भएको सहमति पूर्ण रुपमा कार्यान्वयन गर्न  लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले निर्देशन दिएका छन् । उनले आफू लुम्बिनीमा आध्यात्मिक वातावरण बनाउन दिनरात खटिएको बताउँदै लामो समयदेखि होटल व्यवसायी र गुम्बाविहारका बचिको द्वन्द्व अन्त्य गर्न सफल भएको बताए । उनले विवादले अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको गलत सन्देश गइरहेकोमा अब त्यसको अन्त्य भएको बताए । उनले लुम्बिनी विकास कोषसहित होटल व्यवसायी र गुम्बाविहारका प्रतिनिधिहरुबीचको छलफलबाट कार्यविधि तयार पारिएकाले अब यसको कार्यान्वयन सबै मिलेर गर्नुपर्ने बताए । 

उपाध्यक्ष डा. लामाले बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरका बौद्धमार्गीहरुलाई आर्कषित गर्न सक्नुपर्ने बताउँदै गुम्बा विहार र होटलको समस्या एकैठाउँमा बसेपछि समाधान भएको बताए। उनले अब आध्यात्मिक वातावरण बनाउनका लागि सबैले हातेमालो गर्ने बेला आएको बताए । भिक्षु, लामा गुरुहरु लुम्बिनी आउन पाउँदा निकै खुशी हुने बताउँदै उपाध्यक्ष डा. लामाले सामान्य विवादले पनि अन्तर्राष्ट्रियस्तरमा गलत सन्देश जाने भएकाले सबै सचेत हुनुपर्ने बताए ।

त्यस्तै लुम्बिनी होटल व्यवसायी संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले गुम्बा, विहार र होटल व्यवसायीबीच भएको असमझदारी कार्यविधि बनेसँगै अन्त्य भएको बताए । उनले कार्यविधिको इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह समेत गरे । 

कार्यविधिले गुम्बा विहारमा निश्चित संख्यामा भिक्षु, लामा भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादाताहरुलाई मात्रै राख्ने र होटल व्यवसायीहरुले समेत गुम्बा विहारमा आएका धार्मिक तीर्थयात्रीहरुलाई स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको जनाइएको छ ।  

छलफलमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), कार्यकारी सदस्य श्याम रोक्का, परिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, भिक्षु वजिरा, लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, महासचिव पुरुषोत्तम अर्याल लगायतको उपस्थिति थियो ।