२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

अंग्रेजी नयाँ वर्षको अवसरमा भैरहवामा सडक खाना महोत्सव हुने

बिहिवार , पौष ४, २०८१

भैरहवा, ४ पुस । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा रुपन्देहीको भैरहवामा स्ट्रीट फूड फेस्ट–२०२५ (सडक खाना महोत्सव) हुने भएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा नयाँ वर्षको पूर्व संध्यामा पुस १६ गते मंगलबार (डिसेम्बर ३१) मा महोत्सव हुन लागेको हो । 

महोत्सव विद्रोही चोक (सानु डिपार्टमेन्टल स्टोर्स) देखि मिलनचोकसम्म आयोजना गरिने संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनका अनुसार महोत्सव राती ७ देखि १२ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा नेवारी, थारु, गुरुङ, मधेशी समुदायको जातीय खानादेखि चारतारे होटलसम्मका विदेशी खानाका परिकार रहनेछ । महोत्सवमा करिब डेढ करोड बराबरको कारोबार हुने आयोजकले अनुमान गरेका छन् । 

‘नाफा कमाउने उद्देश्यले भन्दा पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले महोत्सवको आयोजना गर्दैछौं, ’अध्यक्ष श्रेष्ठले भने । महोत्सवमा ५० वटा स्टल रहने र यसपटकको महोत्सवमा ३५ हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको बताए । त्यस्तै महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तती रहने उनले जानकारी दिए ।

संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले आन्तरिक र भारतीय पर्यटकलाई केन्द्रीत गरेर महोत्सव आयोजना गर्न लागिएको बताए । ‘महोत्सव सञ्चालन अवधिसम्म भारतीय पर्यटकको सहज रुपमा आवातजावतमा समस्या नहोस् भन्नका लागि सरकारी निकायसँग समन्वय गर्दैछौं, सुरक्षा र पार्किङको उचित प्रबन्ध हुनेछ, ’ज्ञवालीले भने । 

संगठनका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले वर्षमा एकपटक मात्रै सडक खाना महोत्सव आयोजना गर्दैमा पर्यटन प्रवद्र्धन हुन नसक्ने बताए । उनले विगतमा राजमार्ग सडकमा महोत्सव गरिदै आएकोमा यसपटक मुख्य बजार क्षेत्रमै हुन लागेको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुने आशा जागेको सन्देश महोत्वमार्फत जाने उनको भनाइ छ । 

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले पर्यटन प्रवद्र्धन र आर्थिक चलायमानका लागि नयाँनयाँ कार्यक्रम गर्दै जानुपर्नेमा जोड दिए ।

संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सिद्धार्थनगर नगरपालिका र युनिक साउण्डको सह–आयोजनामा हुने महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेश र प्रवद्र्धकमा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश रहेका छन् । त्यस्तै सहयोगी संस्थामा नाट्टा लुम्बिनी प्रदेश, सिद्धार्थ होटल संघ, सिद्धार्थ सञ्जाल, रुपन्देही, इभेन्ट म्यानेजमेन्ट संघ, रुपन्देही, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही, आस्था महिला उद्यमी संघ र मदिरा व्यवसायी संघ भैरहवा रहेका छन् ।