
शुक्रवार , पौष ५, २०८१
बुटवल, ५ पुस । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस दिवसको अवसरमा बिहीबार जिल्लास्तरीय कविता प्रतियोगिता र चौथो कालिका सिंगीङ्ग आईडल सम्पन्न भएका छन् । विद्यालयमा आयोजना गरिएको स्व.शेरबहादुर गुरुङ स्मृति अक्षयकोषबाट सञ्चालित जिल्लास्तरीय कविता प्रतियोगितामा अक्सफोर्ड बोर्डिङ स्कूलका पवन अधिकारी प्रथम भएका छन् । उनले नगद रु. १३ हजार प्राप्त गरे ।
त्यस्तै कालिका मानव ज्ञानकी मनिषा पराजुली द्वितीय भइन् । उनले नगद रु.९ हजारसहित प्रमाणपत्र प्राप्त गरिन् । न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलका विशेषजन कार्की तृतीय भए । उनले नगद रु.७ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
क्यानन बोर्डिङ स्कुलका बसन्त यादवले चौथो स्थान हासिल गरी नगद रु. ४ हजार प्राप्त गरेको विद्यालयका अतिरिक्त क्रियाकपाल प्रमुख विवेकराज पोखरेलले जानकारी दिए ।
त्यस्तै कालिका मानवज्ञान माविमा अध्यायनरत विद्यार्थीहरुमध्येबाट उत्कृष्ट १० जनाबीच गरिएको चौथो कालिका सिंगीङ्ग आइडलको उपाधि प्रिया खत्रीले प्राप्त गरेकी छन् । उनले नगद रु. १८ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । स्व.मन्दिरा गलामी अक्षयकोषबाट कालिका सिंगिङ आइडल आयोजना गरिएको हो । आइडलमा सागर श्रीपाली द्वितीय हुँदै नगद रु.१२ हजारसहित पुरस्कृत भए । विवेक खराल तृतीय हुँदै रु. ८ हजार र उपमा पाण्डे चौथो स्थान हासिल गर्दै ५ हजार नगद प्राप्त गरिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सल्लाहकार तथा बुटवल कालिका क्याम्पसका अध्यक्ष होम गलामीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा लुम्बिनी प्रदेश सकारका शिक्षा विज्ञ दलबहादुर गुरुङ, अक्षयकोष दाताका प्रतिनिधि अशोक गुरुङ, गिरिप्रसाद गलामी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
कविता प्रतियोगीतामा २० वटा विद्यालयको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख एवं कार्यक्रम कार्यक्रमका संयोजक विवेकराज पोखरेलले गरेका थिए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाको स्वागतमा सम्पन्न भएको कार्यक्रममा सिन्धुली कला केन्द्रका नौमती बाजा समूहको उत्कृष्ट प्रस्तुति समेत रहेको थियो ।
सिगिङ्ग आइडलको निर्णायक गीतकार एवं संगीतकार दीपक श्रेष्ठ र तेजु अर्याल रहेका थिए भने जिल्लास्तरीय कविता प्रतियोगिताको निर्णायकमा वरिष्ठ साहित्यकार कवि समालोचक ऋषिराम भुसाल र वरिष्ठ अधिवक्ता साहित्यकार दिल साहानी रहेका थिए ।
त्यस्तै बिहीबार छात्रातर्फको भलिबल प्रतियोगिता अन्तरगत पहिलो खेल एभरेष्ट मावि र दिप माविका बीच भएकोमा ३–० ले एभरेष्ट मावि विजयी भएको छ । त्यस्तै दोस्रो खेल कान्ति मावि र न्यू होराईजनबीच भएकोमा होराइजन मावि ३–० सेटले विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यसै गरी कालिका मावि र नविन माविबीच भएको खेलमा कालिका ३–० सेटले विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
छात्रातर्फ नै कुवरवर्ती मावि र बुद्ध पब्लिकबीभ भएको खेलमा ३–० सेटले कुवरवर्ती विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेको छ । छात्रतर्फ न्यू होराइजन मावि र पब्लिक माविबीच खेल भएकोमा न्यू होराईजन विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेको छ । कालिका मावि र दिप माविबीच भएको खेलमा कालिका मावि विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेको छ ।
त्यस्तै जनज्योति मावि र नविन औद्योगिक माविबीच भएको खेलमा जनज्योति मावि विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै कान्ति मावि र मणिमुकुन्दबीच भएको खेलमा मणिमुकुन्द मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै नविन मावि र जनज्योतिबीभ भएको खेलमा जनज्योति मावि विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेको छ । ।
कबड्डीतर्फ पहिलो खेलमा न्यू होराइजन मावि, दोस्रोमा नविन औद्योगीक मावि, तेस्रोमा मणिमुकुन्द मावि, चौथोमा न्यू होराइजन मावि विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै पाँचौ खेलमा होराइजन जिबिएस विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij