
शुक्रवार , पौष ५, २०८१
भैरहवा, ५ पुस । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगर नगर समिति, रुपन्देहीको तेस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । नगर अधिवेशनको तयारी पूरा भएको पार्टीको नगर सह–सचिव दिलिप प्रजापतिले बताए । तेस्रो नगर अधिवेशन शनिबार (भोली) भैरहवास्थित पटवा बैंक्वेटमा हुँदैछ ।
अधिवेशनको पार्टीका केन्द्रीय सचिव तथा पूर्व कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले उद्घाटन गर्नुहुने माओवादी केन्द्र सिद्धार्थनगरका उपाध्यक्ष एवं अधिवेशनको प्रचार प्रसार समिति संयोजक ध्रुव लाम्गादेले बताए । उनका अनुसार अधिवेशनको उद्घाटन शनिबार बिहान ११ बजे हुनेछ ।
‘अधिवेशन उद्घाटन बिहान ९ः३० पूर्व नारायणपथस्थित जिल्ला पार्टी कार्यालयबाट खबरदारी र्याली सुरु हुनेछ । र्याली याली मिलनचोकमा पुगेर खबरदारी सभामा परिणत हुनेछ । त्यसपछि बैंकरोड, देवकोटाचोक हुँदै र्याली अधिवेशनस्थलमा पुग्नेछ, ’उनले भने ।
बेथिति, भ्रष्टाचार, महंगी र सरकारको जनविरोधी कदमकाविरुद्ध खबरदारी सभा गर्न लागिएको उनले जानकारी दिए ।
अधिवेशनमा सचिव खनालसहित स्थायी कमिटी सदस्य एवं पूर्वराज्यमन्त्री हकिकुल्ला खाँ, पूर्ववनमन्त्री एवं केन्द्रीय सदस्य मोहम्मद वकील मुसलमान, केन्द्रीय सदस्य किस्मत वि.क., मक्सुद अली, लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बराल, रुपन्देही जिल्ला अध्यक्ष निर्मल जि.सी., कार्यवाहक जिल्ला इञ्चार्ज सोनिया यादव लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहने लाम्गादेले जानकारी दिए । उनका अनुसार नगर अधिवेशनबाट १८६ जना प्रतिनिधि छनौट भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij