
शनिवार , पौष ६, २०८१
बुटवल, ६ पुस । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति रुपन्देहीले गुरुङ समुदायको महान पर्व ल्होसार विविध कार्यक्रमका साथ मनाउन सुरु गरेको छ । शनिबार जिल्ला परिषद कार्यलय प्रांगण रामनगरमा पत्रकार सम्मेलन गरी गुरुङहरुको महान पर्व लहोसारबारे जानकारी गराइएको हो । पुस १५ अर्थात यो वर्प गिद्ध वर्गलाई बिदा गरी सर्प वर्गलाई स्वागत गर्दै यस वर्षको ल्होसार मनाइँदैछ ।
ल्होसारका अवसरमा पुस ११ गते बिहान ८ बजे सबै नगर तथा इकाईमा सरसफाई कार्यक्रम गरिनेछ भने यो कार्यक्रमको जिम्मेवारी सह–सचिव तेजप्रसाद गुरुङलाई दिइएको छ ।
त्यसै गरी पुस १३ गते साँझ ५ बजे जिल्लाभरी दिपावली कार्यक्रम गरिने र जसको जिम्मेवारी जिल्ला उपाध्यक्ष गंगा गुरुङलाई दिइएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
त्यस्तै पुृस १४ गते ट्राफिकचोकबाट बृहत झाँकीसहित शान्ति र्याली निकालिनेछ । उक्त र्याली जिल्ला समितिको कार्यालय प्रांगणमा पुगेर समापन हुनेछ । साँस्कृतिक इकाई स्तरको २५ वर्षमुनीको नृत्य प्रतियोगिता पनि आयोजना गरिनेछ । यसका लागि सचिव आशा गुरुङ, कोषाध्यक्ष मनप्रसाद गुरुङ, सह–कोषाध्यक्ष मनिराज गुरुङ, सदस्यहरु दिलमाया गुरुङ, शेरजंग गुरुङ, ज्ञानबहादुर गुरुङलगायतलाई जिम्मेवारी दिइएको छ । पुस १५ गते राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनुका साथै तमु युवा छोंज धी जिल्ला समितिद्वारा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
पत्रकार सम्मेलनमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सल्लाहकार तथा मातृभाषा अभियान्ता भिम गुरुङले महान पर्व ल्होसारलाई भव्यतापूर्वक मनाइने बताउँदै यसका लागि सबै समितिहरु क्रियाशिल रहेको बताए । त्यस्तै जिल्ला अध्यक्ष विमला गुरुङ र सचिव आशा गुरुङले ल्होसारका कार्यक्रमलाई सफल बनाउन सञ्चार क्षेत्रबाट पनि महत्वपूर्ण सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij