
शनिवार , पौष ६, २०८१
बुटवल, ६ पुस । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव तथा चौथो जिल्लास्तरीय कालिका कप अन्तर्गत कबड्डीमा छात्र/छात्रा दुवैतर्फ कालिका मानवज्ञान मावि प्रथम भएको छ । शुक्रबार भएको फाइनल खेलमा कबड्डीमा छात्रातर्फ कालिका मानवज्ञान मावि प्रथम, नविन औद्योगीक मावि द्वितीय र न्यू होराइजन मावि तृतीय भएका हुन । त्यस्तै छात्रतर्फ कालिका मानवज्ञान मावि प्रथम, न्यू होराइजन मावि द्वितीय र होराईजन जिबिएस तृतीय भएका हुन ।
त्यसै गरी भलिबलमा छात्र र छात्रातर्फ न्यू होराइजन मावि विजयी भएको छ । छात्रतर्फ न्यू होराइजन प्रथम, कालिका मानवज्ञान मावि द्वितीय र जनज्योति मावि तृतीय भएका हुन् । छात्रातर्फ न्यू होराइजन प्रथम, एभरेष्ट इङलिस बोर्डिङ द्वितीय र कुवरवर्ती मावि तृतीय भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रतर्फ न्यू होराइजन माविका रुपेश नेपाली र न्यू छात्रातर्फ न्यू होराइजनकै एलिना चौधरी पुरस्कृत भए । भलिबलतर्फ उत्कृष्ट प्रशिक्षकको रुपमा उदय बम मल्ललाई पुरस्कृत गरियो ।
कबड्डीतर्फ सलामुद्दीन अन्सारी र रोशनी सारु उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए । कबड्डीतर्फ कालिका मानवज्ञान माविका प्रशिक्षक हरि बहादुर वली उत्कृष्ट भए ।
विजेता विद्यार्थीहरुलाई नगर खेलकुद विकास समिति बुटवलका अध्यक्ष बोनिन पिया, कालिका मानवज्ञान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली र विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शिल्ड, मेडल, प्रमाणपत्र र कप प्रदान गरेका थिए ।
त्यस्तै एथ्लेटिक्सतर्फ पशुपति मावि प्रथम भएको छ । ४ स्वर्ण, ४ रजत र ३ कास्यसहित पशुपति प्रथम भएको हो । कालिका मानवज्ञान मावि द्वितीय भएको छ । ३ स्वर्ण, २ रजत र ३ कास्यसहित कालिका द्वितीय भएको छ । त्यस्तै जनज्योति मावि तृतीय भएको छ । जनज्योतिले ३ स्वर्ण प्राप्त गरेको थियो ।
कालिका मानवज्ञान माविको वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा शनिवार बिहान १० बजे सेक्टर २ रामनगरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा विद्यालयमा स्थापित छात्रावृत्ति अक्षयकोषबाट छात्रवृत्ति वितरणसहितका कार्यक्रम आयोजना हुनेछ । त्यस्तै समापन समारोह पुस ७ गते आइतबार बिहान ९ बजे कालिका मानवज्ञान मावि सेक्टर १ कालिका नगरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा हुने विद्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij