२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तीन जिल्ला बौद्ध सर्किट र सिंगो प्रदेश लुम्बिनी सर्किटमा जोड्छौं : मुख्यमन्त्री आचार्य

शनिवार , पौष ६, २०८१

रुपन्देही, ६ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन् । शनिबार रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि सारेको बताए ।

प्रदेश सरकारले बृहत लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको छ । तीन जिल्लालाई बौद्ध सर्किट र सिंगो प्रदेशलाई लुम्बिनी सर्किटको आधारमा विकास गरिने मुख्यमन्त्री आचार्यले बताए । ‘प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाउँछ । तिलौराकोटदेखि नवलपरासीको रामग्रामसम्मका सम्पदाहरुलाई जोड्ने गरी पर्यटन पूर्वाधार निर्माण गरिन्छ’उनले भने,‘लुम्बिनी आउने पर्यटकलाई एक अर्कासँग जोड्ने गरी यो अवधारणा हामीले अघि सारेका हौं । बृहत रुपमा लुम्बिनी सर्किटको अवधारणा छ ।’ 

पर्यटकीय स्थलहरुलाई नवीतम रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरी अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ । पार्कहरुमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामग्रीको प्रयोग गरेर कलात्मक आकृति तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्ने उनले बताए । ‘यहाँको पार्कमा जुन कलात्मक सृजना देखियो । अन्य पार्कहरुमा पनि यहाँको सिकाई हस्तान्तरण गर्न जरुरी छ । हाम्रा पार्कहरुमा कंक्रिट मोह बढ्दै गएका छन् । त्यसलाई निरुत्साहित गर्न जरुरी छ’मुख्यमन्त्री आचार्यले भने,‘काठ र स्थानीय सामग्रीको प्रयोग गरेर आकृति बनाउन जरुरी छ । यसमा प्रदेश सरकारले पनि पहल लिन्छ ।’

प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माणदेखि कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा लगेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । बर्दियामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ‘घुम्न जाउँ बर्दिया अभियान’ सञ्चालन गरेको बताउँदै अब देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्रचारप्रसार अभियानलाई तीव्र पार्न आह्वान गरे । ‘देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न जरुरी छ’उनले भने,‘यसका लागि समुदायको सक्रियता, तपाईहरुको सक्रियता बढ्न जरुरी छ ।’ सामुदायिक वन क्षेत्रभित्र बुद्ध राष्ट्रिय उद्यान निर्माण हँुदा एउटा पर्यटकीय गन्तव्य बन्न सफल भएको समेत उनले बताए ।

बुद्ध सामुदायिक वन उपभोक्ता समुहले वन, वातावरण तथा जैविक विविधता संरक्षणका साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठबाट विभिन्न आकृति निर्माण गरेर प्रदर्शनीमा राखेको छ । ४९ हजार सात सय ५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन वि.सं. २०५६ सालमा स्थापना भएको थियो । २०६९ सालमा कार्ययोजना स्वीकृत भएर अघि बढेको सामुदायिक वनमा अहिले ४ हजार ९ सय ९३ उपभोक्ता प्रत्यक्ष जोडिएका छन् । सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकबहादुर रानाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री आचार्यले स्मारिका समेत विमोचन गरेका थिए ।