
आइतवार , पौष ७, २०८१
भैरहवा, ७ पुस । नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर नगर समिति, रुपन्देहीको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको अधिवेशनले पुनः नारायण बहादुर हमालको अध्यक्षतामा नगर समिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा मेराज खान, कमला थापा, केशव कुवर, सचिवमा दिलिप कुमार प्रजापति, कोषाध्यक्षमा प्रेम बि.सी. र सह–सचिवमा जोशन गुरुङ रहनुभएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन) ले बताए । अधिवेशनले ५३ सदस्यीन नगर समिति निर्वाचित गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै पार्टीका केन्द्रीय सचिव तथा पूर्व कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ अहिलेसम्म भएका सबै क्रियाकलापहरुको समीक्षा गर्नुपर्ने बताए । उनले जनताको पक्षमा काम गर्ने र २०६४ सालमा पहिलो भएको यो माओवादी केन्द्र किन तेस्रो दलमा खुम्चियो भन्नेबारे समीक्षा गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले २०८४ सालमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दावी गरे । त्यस्तै माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले माओवादीले नै जनतालाई देशको मालिक बनाएको दावी गरे ।
पार्टीको सिद्धार्थनगर समितिका अध्यक्ष नारायण बहादुर हमालले पद पाउनु मात्र ठूलो कुरा नभइ पाएको पदको जिम्मेवारी निर्वाह गर्नु ठूलो कुरा भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij